तपाईँ सुन्दै हुनुहुन्छः

बाढी प्रभावित क्षेत्रमा निःशुल्क टेलिकम सेवा निरन्तर रहने

काठमाडौँ । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा अर्को व्यवस्था नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ।

यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो। अब उक्त सुविधा थप समयका लागि निरन्तर रहने भएको हो।

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निःशुल्क सेवा प्रयोग गर्न अनुरोध गरेको छ।

बाढीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा क्षतिग्रस्त संरचनाको मर्मत–सम्भारका लागि प्राविधिक टोली निरन्तर परिचालन भइरहेको टेलिकमले जनाएको छ।

कम्पनीका अनुसार अधिकांश संरचना सुचारु भइसकेका छन् भने बाँकी संरचना पनि सञ्चालनमा ल्याउने काम भइरहेको छ।

विपद्को अवस्थामा निःशुल्क दूरसञ्चार सेवाले प्रभावित क्षेत्रका नागरिकलाई आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न तथा राहत र उद्धार कार्यमा समेत सहयोग पुग्ने नेपाल टेलिकमले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button