रसुवा बाढीपछि गण्डकीका एक सय जना सम्पर्कविहीन
कास्की ।रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि गण्डकी प्रदेशका विभिन्न जिल्लाका कम्तीमा एक सय जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ।
जिल्ला प्रशासन कार्यालयहरूमा परेको निवेदनका आधारमा गण्डकी प्रदेशका ११ जिल्लामध्ये आठ जिल्लाका एक सय जना सम्पर्कविहीन रहेको जनाइएको छ। प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी गोरखाका ५१ जना सम्पर्कविहीन छन्।
गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले प्राप्त विवरण प्रारम्भिक रहेकाले सम्पर्कविहीनको संख्या अझ बढ्न सक्ने बताउनुभएको छ। आफन्तबाट सम्पर्कमा नआएको भन्दै निवेदन आउने क्रम जारी रहेको उहाँले जानकारी दिनुभयो।
कास्कीबाट १६ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चित्राङ्गत बरालका अनुसार सम्पर्कविहीनमध्ये अधिकांश पोखराबाट घुम्न वा विभिन्न कामका सिलसिलामा रसुवा पुगेका थिए।
रसुवा बाढीमा परी मृत्यु भएकाहरूका शव गोरखा, चितवन, तनहुँ र नवलपुरलगायतका स्थानबाट पोखरा ल्याउने क्रम जारी रहेको उहाँले बताउनुभयो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म एक सय दुई वटा शव ल्याइएको र पहिचान गरी आफन्तलाई बुझाउने प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो।
प्राप्त विवरणअनुसार पर्वतका एक, तनहुँका तीन, बागलुङका ११, म्याग्दीका दुई, लमजुङका १० र स्याङ्जाका छ जना सम्पर्कविहीन छन्।
नवलपुरबाट पनि केही व्यक्ति सम्पर्कविहीन भएको अनुमान गरिए पनि यकिन विवरण प्राप्त हुन बाँकी छ। मनाङ र मुस्ताङबाट भने हालसम्म सम्पर्कविहीन भएको कुनै विवरण प्राप्त नभएको सम्बन्धित प्रशासनले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको र सम्पर्कविहीन व्यक्तिहरूको यकिन विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ।
यसैबीच, पोखराका सरकारी तथा निजी अस्पतालमा गरी ८८ वटा शव व्यवस्थापन गर्न सकिने क्षमता रहेको जनाइएको छ। शव परीक्षण गरी पहिचानका लागि सार्वजनिक सूचना जारी गर्ने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्