तपाईँ सुन्दै हुनुहुन्छः

रसुवाको बाढीपछि उदयपुरका ११ जना सम्पर्कविहीन, कुशल कार्की परिवारको सम्पर्कमा

उदयपुर । रसुवामा आएको भीषण बाढीपछि उदयपुर घर भएका ११ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। यसअघि सम्पर्कविहीन भनिएका त्रियुगा नगरपालिका–९ का कुशल कार्की भने परिवारको सम्पर्कमा आएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा आफन्तले दिएको निवेदन अनुसार प्राप्त पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा रहेका उदयपुरका ११ जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन् ।

बाढीका कारण रसुवा तथा आसपासका क्षेत्रमा सञ्चार र यातायात सेवा प्रभावित भएकाले उनीहरूको अवस्थाबारे तत्काल यकिन जानकारी प्राप्त गर्न कठिन भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा त्रियुगा नगरपालिका–१४ बजगराका भेषराज माझी (१८), मिलन माझी (२०) र चन्द्रबहादुर माझी (३२) रहेका छन्। उनीहरू तीनै जना एकै परिवारका सदस्य हुन्।

त्यस्तै कटारी नगरपालिका–५ सोक्तलाहा का बुद्धिमान नेपाली (२०), लिम्चुङबुङ गाउँपालिका–४ बलम्ता का सुमन समीर राई (२४), त्रियुगा नगरपालिका–४ लाइनटोल का देवेन्द्र घिमिरे (४२) र त्रियुगा नगरपालिका–७ चकलघाट का ध्रुव बस्नेत (४०) पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

यसैगरी उदयपुरगढी गाउँपालिका–७ तिरिवास का अरुण मगर (३१), त्रियुगा नगरपालिका–१० बोकेसे का मनिका विश्वकर्मा (२३) र रियाज विश्वकर्मा (५) तथा त्रियुगा नगरपालिका–१ रुपनी का बालकुमार राई (२७) सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरू सम्पर्कविहीन भएको जानकारी आफन्तमार्फत प्राप्त भएको हो। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले उनीहरूको अवस्थाबारे थप विवरण प्राप्त गर्ने प्रयास भइरहेको छ।

यसअघि सम्पर्कविहीनको सूचीमा रहेका त्रियुगा नगरपालिका–९ का कुशल कार्की भने परिवारको सम्पर्कमा आएको परिवारले जनाएको छ। 

उदयपुर प्रहरीले सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरी सम्पर्कविहीन भनिएका व्यक्तिहरूको अवस्थाबारे जानकारी लिने तथा खोजी कार्यमा सहजीकरण गरिरहेको जनाएको छ।

यता, सम्पर्कविहीन व्यक्तिका परिवार तथा आफन्तले उनीहरूको अवस्था तत्काल पत्ता लगाई खोजी तथा उद्धार कार्यलाई थप तीव्र बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button