भोटेकोशी बाढी : मकवानपुरका ४० भन्दा बढी सम्पर्कविहीन
मकवानपुर । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि मकवानपुर घर भएका ४० जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन हुनुभएको छ। हालसम्म जिल्लाका ४० जनाभन्दा बढीका आफन्तले खोजी तथा उद्धारका लागि प्रशासनमा सम्पर्क गरेको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बाढी प्रभावित क्षेत्रमा रहेका र हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूबारे जानकारी गराउन तथा खोजी र उद्धारमा सहयोग गर्न सूचना जारी गरेको थियो। सोही क्रममा मकवानपुरका ४० जनाभन्दा बढीका आफन्तले खोजीका लागि प्रशासनमा सम्पर्क गरेका हुन्।
प्रजिअ अधिकारीका अनुसार प्रारम्भिक विवरणमा जिल्लाको थाहा नगरपालिकाका करिब २० जना सम्पर्कविहीन रहेको जानकारी आएको छ। उनीहरू बाढी प्रभावित क्षेत्रमा कन्टेनर चालकका रूपमा कार्यरत रहेको बुझिएको छ।
उहाँले जिल्लाका स्थानीय तहहरू पनि खोजी तथा उद्धारमा सक्रिय रहेको र सम्पर्कविहीन व्यक्तिहरूको यकिन विवरण संकलन भइरहेको बताउनुभएको छ। प्रशासनले खोजी तथा उद्धारसम्बन्धी जानकारीका लागि ९७४४६३७७७७ नम्बरमा एसएमएस गर्न आग्रह गरेको छ।
दिउँसो ४ बजे बस्ने जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट यकिन तथ्याङ्क र थप निर्णय हुने प्रजिअ अधिकारीले जानकारी दिनुभएको छ।
यसैबीच, मकवानपुर प्रशासनले राहत वितरण तथा संकलनमा समेत एकरूपता कायम गर्न आग्रह गरेको छ। प्रजिअ अधिकारीले आफूखुसी राहत वितरण वा संकलन नगर्न आग्रह गर्दै प्रभावित क्षेत्रमा गएर राहत वितरण गर्नुभन्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न र त्यसको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध गराउन अनुरोध गर्नुभएको छ।








प्रतिक्रिया राख्नुहोस्