तपाईँ सुन्दै हुनुहुन्छः

रसुवा बाढी : सल्यानका १९ जना सम्पर्कविहीन, दुई घाइते 

सल्यान । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी सल्यानका १९ जना सम्पर्कविहीन भएका छन् । रोजगारीको सिलसिलामा रसुवाका विभिन्न स्थानमा काम गर्ने १९ जना सम्पर्कविहीन भएका हुन् । 

सम्पर्क विहीन हुनेमा सबै भन्दा धेरै बनगाड कुपिण्डे नगरपालिका वडा ६ का रहेका छन् । बनगाड कुपिण्डे नगरपालिका वडा न ६ का वडाध्यक्ष गणेश बहादुर बुढाक्षेत्रीका अनुसार अन्दाजी २४ वर्षीय गगन बस्नेत, ३ वर्षीय जितेन्द्र पुन, ३५ वर्षीया पवित्रा राना पुन, ३६ वर्षीय चित्र बहादुर पुन, ५ वर्षीया दीपिका ऐरी, २८ वर्षीया विना ऐरी, १२ वर्षीय केशव बुढाथोकी, १४ वर्षीय निराजन बुढाथोकी, १६ वर्षीया निर्मला बुढाथोकी, १८ वर्षीया डिला बुढाथोकी, ३५ वर्षीया सुनिता बुढाथोकी रहेका छन् । यस्तै त्रिवेणी गाउँपालिकाका प्रेम महतरा, पोषण महतरा, रुपलाल वि.क, निम बहादुर विक, लाल सिंह वि.क र प्रकाश विक सम्पर्क विहीन भएको त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनुभयो । 

बागचौर नगरपालिका १० पिपल नेटाका प्लान्ट क्वारेन्टाइन टिमुरेमा कार्यरत आयुष खड्का र बागचौर नगरपालिका ८गैरागाउँका ३८ वर्षीया प्रमिला बुढाथोकी सम्पर्कमा आउन नसकेको प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर भट्टराईले जानकारी दिनुभयो । 

यस्तै कुमाख गाउँपालिका ३  गुरुदासेका ६ जना बेपत्ता भएका छन् मजदुरीका लागि रसुवा गएका कुमाख गाउँपालिका ३ का अन्दाजी ६० वर्षीय दुर्गा बहादुर राना, ४३ वर्षीय निम प्रकाश राना, ४० वर्षीय गणेश राना, २५ वर्षीय नवीन राना, ५५ वर्षीय झ्यासे राना, २७ वर्षीय नन्दराम राना, २४ वर्षीय चित्र बहादुर राना बेपत्ता भएको कुमाख गाउँपालिका का.वा अध्यक्ष लाल बहादुर रावतले जानकारी दिनुभयो ।

बाढीमा परी बनगाड कुपिण्डे नगरपालिकाका ३६ वर्षीय गिरिराज बुढाथोकी र २९ वर्षीय ढाकविर ऐरी घाइते भएका छन् । घाइतेको काठमाण्डौमा उपचार भइरहेको छ । 

मजदुरीका क्रममा रसुवामा के कति छन् भनेर तथ्यांंक सङ्कलन गर्ने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । स्थानीय तहसँग समन्वय गरेर रसुवा पुगेका व्यक्तिहरूको यथार्थ विवरण सङ्कलनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button