डोटी बाल सुधार गृहबाट फरार ५२ मध्ये ४१ जना फर्किए, ११ अझै सम्पर्कविहीन

डोटी । डोटीस्थित बाल सुधार गृहबाट जेन्जी आन्दोलनका क्रममा फरार भएका ५२ जना बालबन्दीमध्ये ४१ जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः सुधार गृहमा फिर्ता पठाएको छ। अझै ११ जना फरार रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक सागर बोहराका अनुसार २०८२ भदौ २४ गते सुधार गृहमा भएको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिको फाइदा उठाउँदै ५२ जना बालबन्दी सामूहिक रूपमा फरार भएका थिए।
घटनापछि प्रहरीले खोजी अभियान तीव्र बनाएर विभिन्न स्थानबाट ४१ जनालाई नियन्त्रणमा लिई सुधार गृहमा बुझाएको एसपी बोहराले जानकारी दिए।
बाँकी ११ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजीका लागि परिवार, आफन्त तथा सरोकारवालासँग समन्वय गरी आवश्यक सूचना सङ्कलन भइरहेको छ।
फरार बालबन्दीबारे कुनै जानकारी प्राप्त भए नजिकको प्रहरी कार्यालयमा खबर गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा सुधार गृहको सुरक्षा व्यवस्थामा आएको कमजोरीको फाइदा उठाउँदै बालबन्दीहरू सामूहिक रूपमा फरार भएको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।
बाल सुधार गृह डोटीमा सुदूरपश्चिम र प्रदेश नम्बर ५ का विभिन्न जिल्लाका बालकहरू रहेका छन्।






प्रतिक्रिया राख्नुहोस्