तपाईँ सुन्दै हुनुहुन्छः

पोखराको फिर्के पुल भत्कियो

पोखरा I गए राति आएको अविरल वर्षाका कारण पोखरा महानगरपालिका–५ र ८ जोड्ने फिर्के पुल भत्किएको छ । 

गण्डकी प्रदेश सभा, कृषि मन्त्रालय तथा रेडियो नेपाल प्रादेशिक कार्यालयतर्फ जाने सडकमा पर्ने उक्त पुल लामो समयदेखि जोखिममा रहेपछि करिब एक महिनाअघिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो ।

उक्त पुल भत्केसँगै पैदल यात्रा गर्न समेत कठिनाइ भएको स्थानीयले गुनासो गर्नु भएको छ । पुलको भत्किएको कङ्क्रिट तथा अन्य संरचनाले फिर्के खोलाको पानीको बहावमा अवरोध पुर्‍याएको छ । यसका कारण पानी जम्ने तथा थप क्षति हुनसक्ने जोखिम बढेकोले त्यसको उचित व्यवस्थापनमा लाग्न स्थानीयको माग रहेको छ ।

पोखरा महानगरपालिका–५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले पुल भत्किएको क्षेत्रमा तत्काल प्राविधिक टोली खटाएर पैदल यात्रुका लागि सुरक्षित आवतजावतको वैकल्पिक व्यवस्था गर्ने बताउनुभएको छ । उहाँका अनुसार करिब ५० वर्षअघि निर्माण भएको पुल १५ वर्षअघि पुनः मर्मत गरिएको थियो । पुल पूर्ण रूपमा भत्किएपछि अब नयाँ पुल निर्माण गर्नुपर्ने अवस्था आएको वडाध्यक्ष बरालले बताउनुभयो । “वडाको बजेटले मात्रै नयाँ पुल निर्माण गर्न सम्भव छैन, त्यसका लागि महानगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button