तपाईँ सुन्दै हुनुहुन्छः

भारी वर्षा र पहिरोको जोखिम: रुकुम पूर्वमा रातिको समयमा सवारी आवागमनमा रोक

रुकुम पूर्व। अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएपछि रुकुम पूर्वमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले शुक्रबार एक सूचना जारी गर्दै पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत काँडाबगर, धौलापहिरालगायतका क्षेत्रमा पहिरो खसेर सडक जोखिमपूर्ण बनेको जनाएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार आगामी केही दिन अझै वर्षाको सम्भावना रहेको छ। सोही आधारमा जिल्ला सुरक्षा समितिको बैठकले मध्यपहाडी लोकमार्ग भएर सञ्चालन हुने सबै प्रकारका सवारी साधनलाई साउन २९ गते बेलुकी ९:०० बजेदेखि साउन ३० गते बिहान ९:०० बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी समीर गौतमका अनुसार भारी वर्षाका कारण सडकमा थप पहिरो खस्ने र यात्रा जोखिमपूर्ण हुने सम्भावना रहेकाले सम्भावित दुर्घटना न्यूनीकरणका लागि राति सवारी आवागमन बन्द गरिएको हो।

यसअघि पनि भारी वर्षाका कारण भूमे गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। सुरक्षा निकाय र स्थानीय तहको सक्रियतामा पहिरो हटाई सडक सञ्चालनमा ल्याइए तापनि निरन्तरको वर्षाले गर्दा जोखिम भने कायमै छ।

प्रशासनले यात्रा गर्नुअघि मौसमको अवस्था, वर्षाको सम्भावना र सडकको स्थितिबारे जानकारी लिएर मात्रै निस्कन सर्वसाधारणमा अनुरोध गरेको छ। साथै, जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button