तपाईँ सुन्दै हुनुहुन्छः

डोटीबाट सरकारी पूजा सामग्रीसहितको ‘पेटारो’ बडीमालिका प्रस्थान

डोटी । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा हुने पूजाआजाका लागि डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली ‘पेटारो’ प्रस्थान गरेको छ।

हरेक वर्षझैँ यस वर्ष पनि जिल्ला प्रशासन कार्यालय डोटीले विशेष पूजाआजा गरी सरकारी पूजा सामग्रीसहितको पेटारो बडीमालिकातर्फ पठाएको हो। पेटारो पैदल यात्रामार्फत करिब १५ दिनमा बडीमालिका पुग्ने जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय डोटीमा विशेष पूजाआजा सम्पन्न गरिएको थियो। त्यसपछि सदरमुकाम सिलगढीस्थित प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरमा पूजाआजा गरी पेटारो बडीमालिकातर्फ प्रस्थान गरेको हो।

बडीमालिकामा जनै पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीमा मुख्य पूजाआजा गर्ने परम्परा छ। सोही पूजाका लागि राणा शासनकालदेखि नै तत्कालीन डोटी गौणाबाट सरकारी पूजा सामग्रीसहितको पेटारो बडीमालिका पठाउने परम्परा रहँदै आएको बताइन्छ।

सिलगढीबाट प्रस्थान गरेको टोली पहिलो दिन पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बास बस्नेछ। दोस्रो दिन पूर्वीचौकी–५ धानुकाँडा हुँदै तेस्रो दिन अछामको मार्कु पुग्नेछ। त्यसपछि प्रसिद्ध वैद्यनाथ क्षेत्र हुँदै पैदल मार्गबाट बडीमालिका पुग्ने परम्परागत बाटो प्रयोग गरिनेछ।

पेटारोमा डोटी–दिपायल क्षेत्रमा रोपाइँका समयमा धानको पातबाट बनाइने ‘भुरुडी’ तथा वैद्यनाथको अक्षतालगायत पूजा सामग्री समावेश गरिएको छ।

यस वर्षको पेटारो टोलीको नेतृत्व आदर्श गाउँपालिकामा कार्यरत अहेव मकरबहादुर खड्का र सायल गाउँपालिकाका कार्यालय सहायक खगि थापाले गरेका छन्।

सरकारी पूजा सामग्रीसहितको पेटारो प्रस्थानका क्रममा जिल्ला प्रशासन कार्यालय, शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका टोलीले सलामीसमेत दिएका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button