तपाईँ सुन्दै हुनुहुन्छः

भेरीमा जीप खस्दा दुई जना बेपत्ता 

सल्यान । छिन्चु–जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ बाङ्गिरह नजिकै जिप दुर्घटना हुँदा चालक र जिप मालिक बेपत्ता भएका छन् । दुर्घटनामा दुई जना घाइते भएका छन् । 

प्रारम्भिक जानकारीअनुसार लु १ ज ३०२२ नम्बरको बन्द बडी जिप बालुवा संग्रहीबाट सल्ली बजारतर्फ फर्किने क्रममा बुधबार दुर्घटनामा परेको हो । जिप सडकबाट करिब २० मिटर तल भेरी नदीमा खसेर बेपत्ता भएको जनाइएको छ ।

दुर्घटनामा जिप चालक र जिप मालिक भेरी नदीमा बेपत्ता भएको बताइएको छ । उनीहरूको पहिचान तथा विस्तृत विवरण भने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो ।

दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका–१ आपखोलीका २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकी सामान्य घाइते भएका छन् । घाइते दुवै जना भेरी नदीमा पौडी खेलेर बाहिर निस्कन सफल भएका थिए ।

घटना लगत्तै स्थानीय जनप्रतिनिधि, स्थानीयवासी तथा प्रहरी घटनास्थलमा पुगेर बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्यमा जुटेका छन् । नदीको बहाव तथा गहिराइका कारण खोजी कार्यमा कठिनाइ भइरहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख तथा सशस्त्र प्रहरी बल सल्यान प्रमुख सहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेका छन् । खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सुर्खेतबाट सशस्त्र प्रहरीको थप टोली घटनास्थलमा पठाउने गरी समन्वय भइरहेको प्रतिनिधि सभा सदस्य रमेश मल्लले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button