तपाईँ सुन्दै हुनुहुन्छः

सदाचार ऐनका लागि विधेयक प्रस्ताव गर्न सरकारलाई निर्देशन

काठमाडौँ । राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिले सदाचार नीति २०८३ को कार्यान्वयनका लागि तत्काल सदाचार ऐनका लागि विधेयक प्रस्ताव गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले सबै निकायमा आचारसंहिता निर्माण गर्न, विद्यालय पाठ्यक्रममा सदाचार शिक्षा समावेश गर्न र सबै निकायमा तत्काल फोकल पाेइन्ट तोक्न पनि निर्देशन दिएको छ ।

बैठकमा समिति सदस्यहरुले सदाचार पालना सरकारबाटै सुरु गरिनुपर्ने भन्दै सदाचारलाई जीवन पद्धति मै ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सदस्यहरुले सदाचार सबै क्षेत्र र वर्गमा अपरिहार्य भएको भन्दै यसलाई विद्यालय पाठ्यक्रममा समावेश गर्न सरकारले प्रभावकारी तरीकाले अग्रसरता लिनुपर्ने धारणा राख्नुभयो ।

बैठकमा सदाचार नीतिको कार्यान्वयनका लागि जिम्मेवार निकायमा रहेका व्यक्तिहरूको आचरणमा सुधार ल्याउनुपर्ने धारणा पनि समिति सदस्यहरुले राख्नुभएको थियो ।

यसैगरी बैठकले सदाचार नीतिको आवश्यकताका सम्बन्धमा सदाचार नीति २०८३ जारी गरेकोमा सरकारलाई समितिले धन्यवाद दिएको छ ।

सरकारले २०८३ असार १८ गते राष्ट्रिय सदाचार नीति स्वीकृत गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button