काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना परियोजनाबारे प्रथम गोष्ठी सम्पन्न
काठमाडौँ । काठमाडौँ उपत्यकामा सुरक्षित र दिगो यातायात प्रणाली विकास गर्ने उद्देश्यसहित जाइकाको काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना परियोजना सम्बन्धी प्रथम गोष्ठी सम्पन्न भएको छ।
ललितपुरस्थित हिमालय होटलमा आज आयोजित गोष्ठीमा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ्ग थापाले बढ्दो यातायात चापलाई मध्यनजर गर्दै अघि बढाइएको मास ट्रान्जिट प्रणालीसम्बन्धी अध्ययनले दीर्घकालीन यातायात योजना निर्माणका लागि आधारभूमि तयार गर्ने बताउनुभयो ।
गोष्ठीमा पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले वातावरण संरक्षणलाई ध्यानमा राखी तयार गरिएको उक्त गुरुयोजनाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन तथा शहरी सडक पूर्वाधारको विकास तथा विस्तारमा मदत पु¥याउने बताउनुभयो।
गोष्ठीमा जाइकाका विज्ञ टोलीका टोली प्रमुख हिदेओ सुजीले गुरुयोजनाअन्तर्गत सार्वजनिक यातायातको सेवा स्तर अभिवृद्धि, रुट पुनर्संरचना तथा यातायात प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ सम्भाव्यता अध्ययन तयार गरिएको जानकारी दिनुभयो।
विज्ञ टोली प्रमुख सुजीले रिङरोडभित्र सवारी साधनको चाप व्यवस्थापन गरी सडकको क्षमता सुदृढ बनाउने, रिङरोडबाहिरका क्षेत्रको पहुँच थप सहज बनाउने तथा विपद् तथा आपतकालीन अवस्थाका लागि सडक सञ्जालको विकास गर्ने गुरुयोजनाको लक्ष्य रहेको बताउनुभयो।
गोष्ठीमा हाल उच्च सवारी दुर्घटना दर, असमान सडक चौडाइ तथा फुटपाथ र पुलसँग सम्बन्धित संरचनागत चुनौतीहरूको समाधान गर्दै यातायात व्यवस्थापनलाई सुरक्षित बनाउने व्यवस्था पनि गुरुयोजनामा समेटिएको जाइकाका विज्ञ टोलीका उप–टोली प्रमुख वातारु ओजोनोले जानकारी दिनुभयो।
जाइकाको मुख्यालयका प्रतिनिधि किइचिरो शिओयाले दिगो सहरी विकासका लागि काठमाडौँ उपत्यकाको समग्र यातायात व्यवस्थापनलाई सुरक्षित, एकीकृत र वातावरणमैत्री बनाउन गुरुयोजनाले सहयोग गर्ने बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्