बर्खे आलु बिक्री नहुँदा किसान समस्यामा
सल्यान । बर्खे आलु उत्पादनका लागि परिचित सल्यानमा यस वर्ष आलु बिक्री नहुँदा किसान समस्यामा परेका छन् । उत्पादन राम्रो भए पनि उचित मूल्य र बजार नपाउँदा जिल्लाको प्रमुख आलु उत्पादन क्षेत्र बागचौर नगरपालिका–११ र १२ का किसानले अधिकांश आलु घरमै थन्क्याउन बाध्य भएका छन् भने केही आलु अझै बारीमै खन्न बाँकी छ ।
बाफूखोलाबाट मात्रै वार्षिक १२ करोड रुपैयाँभन्दा बढीको आलु बिक्री हुने गरेको छ । यही खेतीबाट धेरै किसानको जीविकोपार्जन चल्दै आएको छ । तर यस वर्ष उत्पादन भए पनि बिक्री हुन नसक्दा किसान आर्थिक सङ्कटमा परेका छन् ।
हरेक वर्ष साउन लाग्नुअघि नै जिल्लाबाहिर निकासी हुने आलु यस वर्ष भने बजार अभावका कारण गोदाम र घरमै थन्किएको बाफूखोलाका व्यावसायिक किसान खगेन्द्र खत्रीले बताउनुभयो । यस वर्ष १४ रोपनी क्षेत्रफलमा खेती गरी करिब २५० बोरा आलु उत्पादन गरे पनि हालसम्म ५९ बोरा मात्रै बिक्री भएको उहाँले बताउनुभयो ।
बागचौर नगरपालिका–१२ का वडाध्यक्ष टीकाराम वलीका अनुसार भारतीय आलुको बढ्दो आयातले स्थानीय किसान सबैभन्दा बढी प्रभावित भएका छन् । गत वर्ष मात्रै करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको आलु बिक्री गर्नुभएका उहाँले यस वर्ष उत्पादन भएर पनि बजार नपाएको बताउनुभयो ।
कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लाभर ४ हजार ५४५ हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको छ । आर्थिक वर्ष २०८२÷०८३ मा १ हजार ७३० हेक्टरमा हिउँदे तथा २ हजार ८१५ हेक्टरमा बर्खे आलु खेती गरिएको थियो । त्यसबाट ५९ हजार १५ मेट्रिक टन आलु उत्पादन भएको कार्यालयको तथ्याङ्क छ । जिल्लाभरका किसानले वार्षिक करिब २४ करोड रुपैयाँ बराबरको आलु बिक्री गर्दै आएका छन् ।








प्रतिक्रिया राख्नुहोस्