हात्तीका लागि लगाइएको विद्युतीय तारबारमा परेर महिलाको मृत्यु
झापा । झापाको भद्रपुरमा जङ्गली हात्ती नियन्त्रणका लागि लगाइएको विद्युतीय तारबारमा परेर एक महिलाको मृत्यु भएको छ ।
हिजो भद्रपुर–४ मायालु वन क्षेत्रमा ६५ वर्षीया ज्योति लिम्बू आफ्नै बारीमा हात्ती धपाउन जडान गरिएको नाङ्गो विद्युतीय तारमा छोएपछि करेन्ट लागेर ढल्नु भएको थियो । केही समयपछि बुहारी सविता खड्काले उहाँलाई लडिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गर्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी रञ्जन अवाले हात्तीबाट बाली जोगाउनका लागि लगाइएको तारमा कुल्चँदा करेन्ट लागेर लिम्बूको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनु भयो ।
मानव–हात्ती द्वन्द्वका कारण सबैभन्दा प्रभावित जिल्ला झापामा प्रत्येक वर्ष हात्तीको आक्रमणबाट मानिस र वन्यजन्तु दुवैले ज्यान गुमाउने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्