सामुदायिक वनको बजेटबाट बाँदर हेरालु नियुक्त
अर्घाखाँची । कृषकको मुख्य खाद्यान्न वाली मकै खेती बाँदरले नष्ट गर्ने क्रम बढेपछि अर्घाखाँचीमा डिभिजन वन कार्यालयले २६ जना बाँदर हेरालु छनोट गरि फिल्डमा खटाएको छ । हेरालुले सबैसँग समन्वय गरेर काम गर्ने बाँदर हेरालु बिन बहादुर बिकको भनाई छ ।

१८ वर्षदेखि ४५ वर्षका उमेर समूहका छनोट गरिएका २६ जना बाँदर हेरालुले असोज १० गतेसम्म (दुई महिना) हेरालुको काम गर्नेछन् । यसरी बाँदर हेरालुको लागि तलब, खर्च व्यवस्थापन भने शितगंगा नगरपालिका भित्र रहेका सम्बद्र्धन प्रणालीमा आधारित सामुदायिक वन उपभोक्ता समूहले रकम सङ्कलन गरेर वन कार्यालयलाई दिने भएका छन् । जिल्लाको ६ पालिकाको ६१ वडामध्ये २६ स्थानलाई बाँदर अति प्रभावित क्षेत्र छनोट गरिएको छ । त्यस बापत उनीहरूले मासिक १२ हजार ५ सय पारिश्रमिक पाउने गरी वन कार्यालयले नियुक्ति दिएर फिल्डमा खटाएको डिभिजन वन कार्यालय अर्घाखाँची प्रमुख नारायणदेव भट्टराइले बताउनुभयो ।

यसैबीच, छनोट भएका बाँदर हेरालुहरूका लागि दुई घण्टाको विशेष प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा किसानको बारीमा पसेर मकै नोक्सान गर्ने बाँदर धपाउने तरिका, बाँदरको आनीबानी र प्राकृतिक वासस्थानमै भुलाउने उपायबारे जानकारी गराइएको थियो।
सो क्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीसहितको टोलीले हेरालुहरूलाई गुलेली, टर्चलाइट र ज्याकेटजस्ता आवश्यक सामग्री वितरण गरेको थियो।








प्रतिक्रिया राख्नुहोस्