तपाईँ सुन्दै हुनुहुन्छः

कप्तानगञ्ज झडपमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते

सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। आइतबार राति भएको घटनामा प्रहरी निरीक्षकसहित १६ जना घाइते भएका छन्।

गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार राति करिब ११ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहेको एक समूह र रातिको समयमा डिजे बजाएर होहल्ला गरेको भन्दै विरोध गर्ने अर्को समूहबीच विवाद सुरु भएको थियो। विवाद चर्किँदै जाँदा झडपमा परिणत भएको बताइएको छ।

झडप हिंसात्मक बनेपछि कप्तानगञ्ज बजारका घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ। अवस्था नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार र हवाई फायर गरेको थियो। त्यसपछि पनि स्थिति नियन्त्रणमा नआएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ।

घटनामा घाइते भएका सर्वसाधारणको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम, कोशी अस्पताल र नोबेल मेडिकल कलेजलगायतका अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

झडपमा प्रहरी निरीक्षक राकेश राईसहित आठ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। राईको टाउकोमा चोट लागेर पाँच वटा टाँका लगाइएको छ भने अन्य सुरक्षाकर्मीहरूको अवस्था सामान्य रहेको जनाइएको छ।

घटनापछि सुनसरीको सदरमुकाम इनरुवामा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेको थियो। बैठकले अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउनु परेको निष्कर्ष निकालेको जनाइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button