तपाईँ सुन्दै हुनुहुन्छः

विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागबण्डा अन्त्य गर्न मन्त्री पोखरेलको आग्रह

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागबण्डा अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा आज कीर्तिपुरमा आयोजित कार्यक्रममा सहकुलपति पोखरेलले सुधार र रुपान्तरणको दृष्टिकोणसहित सबै विश्वविद्यालयमा उपकुलपतिहरू नियुक्त भएसँगै विश्वविद्यालयहरू गतिशिल भइरहेको बताउनुभयो । 

उहाँले त्रिविको पुरानो पहिचान कायम राख्दै नयाँ अध्यायको प्रारम्भ गर्ने, प्राज्ञिक स्वायत्ततालाई थप प्रोत्साहन गर्दै दलीय भागबण्डाको अन्त्य गर्ने र योग्यता प्रणाली कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

विश्वविद्यालयहरूमा सरकारबाट कुनै पनि प्रकारको हस्तक्षेप वा दबाब नहुने उल्लेख गर्दै मन्त्री पोखरेलले नवनियुक्त उपकुलपतिलगायत विश्वविद्यालयको सम्पूर्ण संयन्त्रलाई सुशासनको प्रत्याभूति हुनेगरी काम गर्न अनुरोध गर्नुभयो । उहाँले अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन र त्रिविका प्राध्यापकहरूलाई विश्वका विश्वविद्यालयहरूसँग ज्ञान आदानप्रदान गर्न सुझाउनुभयो । 

विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले उच्च शिक्षाको ऐतिहासिक निकाय तथा उच्च शिक्षाको राष्ट्रिय धरोहरका रुपमा  परिचित त्रिभुवन विश्वविद्यालयलाई बदलिँदो परिस्थितिअनुरूप थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले सुशासन कायम गर्न प्रणाली स्थापना गर्ने, विश्वस्तरमा सहकार्यमा जोड दिई ज्ञान, अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित भई नैतिक तथा प्रतिस्पर्धी शैक्षिक संस्थाका रुपमा अघि बढाउने बताउनुभयो । 

कार्यक्रममा त्रिविको वार्षिक प्रकाशनसमेत विमोचन गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button