‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२’ को मिति घोषणा
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२’ को मिति घोषणा भएको छ ।
बुधबार मञ्चले काठमाडौँमा एक कार्यक्रम गर्दै अवार्डको २३ औँ संस्करण भदौ १८ गते नेपाल पुलिस क्लबको ‘द ब्लु पवेलियन’ मा गर्ने घोषणा गरेको हो ।
अवार्डको लागि मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँग सम्झौता पनि गरेको छ । गोल्छा ग्रुप लगातार १९औँ पटक अवार्डसँग जोडिएको हो । दुईबिच अघिल्लो वर्ष नै पाँच वर्षका लागि सम्झौता भएको थियो । जुन दोस्रो वर्षमा चलिरहेको छ ।
सम्झौता पत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गर्नुभयो । मञ्चका महासचिव अञ्जन खड्काले पल्सर स्पोट्र्स अवार्ड २०८२ मा ९ विधामा अवार्ड प्रदान गरिने जानकारी दिनुभयो ।
त्यसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेको छ ।
वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने छ । यसका लागि मञ्चको खेलाडी छनोट समितिले तयारी सुरु गरिसकेको छ । मनोनयनमा ५–५ जना रहने प्रावधान छ ।
लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड विधाको विजेताको घोषणा अवार्डकै दिन हुनेछ । वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ ।








प्रतिक्रिया राख्नुहोस्