सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल
काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधिसँग त्यहाँको विकास निर्माणको अवस्था, स्थानीय तहले भोगिरहेका समस्या, नागरिकका गुनासा तथा अपेक्षाबारे विस्तृत छलफल गर्नुभएको छ ।

ककनीका जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले जनताका समस्याको जानकारी लिएर सम्बन्धित निकायसँग समन्वयमार्फत समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सूचना तथा सञ्चार मन्त्रालयमा आज भएको उक्त छलफलमा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, वडा नं १ वडाध्यक्ष पदमबहादुर श्रेष्ठ, वडा नं २ का वडाध्यक्ष कृष्ण घिमिरे र वडा नं ३ का वडाध्यक्ष घननाथ बजगाई तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराई राई सहभागी हुनुहुन्थ्यो ।
छलफलमा सञ्चारमन्त्री डा तिमिल्सिनाको सचिवालयका प्रमुख स्वकीय सचिव शिव थापा, स्वकीय सचिव जीवन खरेल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मधुसुदन ढकाल, रोजिन लामा, शिशिर फुयाँललगायतको उपस्थिति थियो । भेटका क्रममा ककनी गाउँपालिकाको समग्र विकास निर्माण, सडक पूर्वाधार, विपद् व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, दूरसञ्चार सेवा, कृषि, गुठी जग्गाको व्यवस्थापन तथा स्थानीय नागरिकले भोगिरहेका अन्य समस्याका विषयमा विस्तृत छलफल भएको थियो ।
स्थानीय जनप्रतिनिधिले वर्षायाममा बाढी–पहिरोको जोखिम बढ्दै गएको, विपद् व्यवस्थापनका पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने तथा जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएका थिए । त्यस्तै सिसडोल र बञ्चरे डाँडासँग जोडिएको फोहोर व्यवस्थापनको समस्या स्थानीय बासिन्दाको स्वास्थ्य र वातावरणसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले त्यसको दीर्घकालीन समाधानका लागि सङ्घीय सरकारबाट सहयोग आवश्यक रहेको उहाँहरूको भनाइ थियो ।
छलफलमा फोहर व्यवस्थापनका क्रममा काठमाडौँ महानगरपालिकासँग अपेक्षित समन्वय हुन नसकेको विषय पनि उठाइएको थियो । प्रभावित क्षेत्रमा फोहोरका कारण स्थानीयवासीको स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै जनप्रतिनिधिहरूले सरकारबाट आवश्यक सहयोग र प्रभावकारी समन्वयको अपेक्षा व्यक्त गर्नुभएको थियो । यो समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच थप समन्वय आवश्यक रहेको उहाँहरूको धारणा थियो ।
छलफलका क्रममा ककनीको चाउथे लगायत केही क्षेत्रमा नेपाल टेलिकमका टावर प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा सञ्चार सेवामा समस्या भइरहेको विषय पनि उठाइएको थियो । त्यसैगरी, किसानले समयमै रासायनिक मल नपाएको तथा मल वितरणमा अनियमितता र चुहावट हुनसक्ने आशङ्का रहेको भन्दै सम्बन्धित निकायबाट छानबिन र प्रभावकारी व्यवस्थापनको माग गरिएको थियो ।
जनप्रतिनिधिहरूले उठाएका विषयलाई आफूले गम्भीर रुपमा लिएको बताउनुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले आफू सूचना तथा सञ्चार मन्त्रालयको नेतृत्वमा रहे पनि नुवाकोट क्षेत्र नम्बर १ का जनप्रतिनिधिका रूपमा नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले मल वितरणमा समस्या रहेको जानकारी प्राप्त भएको उल्लेख गर्दै सम्बन्धित निकायसँग यसबारे जानकारी मागिने र आवश्यक समन्वय गरिने जानकारी दिनुभयो ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले वर्तमान सरकारले शासकीय सुधार, नागरिक सेवा प्रवाह र आन्तरिक प्रशासनिक सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै नागरिकका समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताउनुभयो ।
सञ्चारमन्त्री डा तिमिल्सिनाले नागरिकका आवश्यकता र स्थानीय तहका प्राथमिकतालाई केन्द्रमा राखेर सम्बन्धित मन्त्रालय तथा निकायसँग नियमित समन्वय गर्दै नुवाकोटका विकास निर्माण र जनजीविकासँग जोडिएका विषयलाई अघि बढाइने विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्