गुर्भाकोटमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते, तीनको अवस्था गम्भीर
सुर्खेत । पूर्वी सुर्खेतको सिम्ताबाट गुमीतर्फ आउँदै गरेको फोर्स गाडी गुर्भाकोट नगरपालिकाको सेराघारीमा दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आज दिउँसो कर्णाली प्रदेश ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी जिल्लाको गुर्भाकोट नगरपालिका–१३, अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । टाउकोमा चोट लागेर गम्भीर घाइते हुने सिम्ता गाउँपालिका–९, का गणेश वलीको प्रदेश अस्पताल कालागाउँ, गुर्भाकोट नगरपालिका–१३, का ५ वर्षीय रियाज शाहीको माया अस्पताल वीरेन्द्रनगर र तनहुँ जिल्ला घर बताउने ३९ वर्षीया भावना राइको मेहलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मध्यम र सामान्य घाइतेहरूको मेहलकुना अस्पताल गुर्भाकोटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डिएसपी) कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । उहाँले दुर्घटनाग्रस्त गाडी घटनास्थलमा रहेको र गाडी चालकलाई प्रहरीले नियन्त्रण लिएर कारबाहीका लागि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।
उहाँका अनुसार मध्यम र सामान्य घाइते हुनेमा गुर्भाकोट–१३ की २३ वर्षीया ममता पुन, सिम्ता– ९ की ४५ वर्षीया विष्णुमाया सुनार, सिम्ताकै सोही ठाउँका १० वर्षीय प्रविन सुनार, तनहुँ जिल्ला घर भएका २ वर्षीय प्रज्वल राई, गुर्भाकोट–१४ की ३२ वर्षीया जैसरा बुढा, सोही ठाउँकी ६० वर्षीया भुमिसरा खड्का, भूमिसराका श्रीमान् ४२ वर्षीय उदयराम भुजेल, सोही ठाउँकी ४५ वर्षीया धनमाया भुजेल, सिम्ता–९ की ३२ वर्षीया टिका खत्री, सोही ठाउँका ६० वर्षीय भीमबहादुर थापा, सोही ठाउँकी ५५ वर्षीया तुलसरा सुनार, गुर्भाकोट–१४ का १२ वर्षीय सक्षम बुढा, गुर्भाकोट–१२ की १५ वर्षीया प्रिति गुरुङ, सिम्ता–९ की ३० वर्षीया शान्ता खत्री, गुर्भाकोट–१४ की १७ वर्षीया भावना आले र सिम्ता–९ की ३० वर्षीया मनिषा थापा रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्