पहिरोले सिप्रिङ खोला जलविद्युत आयोजनाको ड्याममा क्षति, गोठ पुरिँदा एक जना बेपत्ता
दोलखा।मंगलबार रातिको अविरल वर्षापछि आएको पहिरोले दोलखाको गौरीशङ्कर गाउँपालिका–९, मुलखर्कस्थित ९ मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको ड्याममा ठूलो क्षति पुगेको छ। पहिरोमा गोठ पुरिँदा ७५ वर्षीय चसमान तामाङ बेपत्ता भएका छन्।
राति करिब ११ः३० बजे सिप्रिङ खोलामा आएको बाढी र पहिरोले आयोजनाको ड्याम पुरिएको आयोजनाका कर्मचारी मनिक विनोद श्रेष्ठले जानकारी दिनुभयो । उनका अनुसार ड्याम क्षेत्रमा रहेका उनीसहित सुकदेव श्रेष्ठ, कल्याण विश्वकर्मा र सूर्यबहादुर तामाङ स्थानीयको सहयोगमा माथिल्लो डिलतर्फ भागेर सकुशल जोगिएका हुन्।
श्रेष्ठका अनुसार ड्याम नजिकै रहेको चसमान तामाङको गोठ पहिरोले बगाउँदा उनी बेपत्ता भएका छन्। गोठमा रहेका १० वटा गाई तथा २५ भन्दा बढी खसीबाख्रा पनि बगाएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष खड्काले बेपत्ता तामाङको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको जानकारी दिनुभयो ।
गौरीशङ्कर गाउँपालिका–९ का वडाध्यक्ष निमगेली शेर्पाले सिप्रिङ खोला जलविद्युत आयोजनाको ड्याममा पहिरोले क्षति पुगेको जानकारी प्राप्त हुनासाथ वडा कार्यालयले सम्बन्धित निकायसँग समन्वय गरी उद्धार तथा आवश्यक व्यवस्थापनको काम अघि बढाएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्