तपाईँ सुन्दै हुनुहुन्छः

‘किसानलाई कागजी प्रक्रिया भन्दा उत्पादनमा केन्द्रित हुने वातावरण सिर्जना गर्नुपर्छ’

बाँके । दक्षिण अमेरिकी मुलुक पाराग्वेमा सफल कुखुरापालन व्यवसाय सञ्चालन गरेर राम्रो आम्दानी गरिरहेकी बाँकेको जानकी गाउँपालिका–२ की गीता मौर्यले आफ्नै देशमा कृषि गरेर आत्मसन्तुष्टि पाएको बताउनुभएको छ । विदेशमा सम्भावना हुँदाहुँदै स्वदेश फर्केर कृषि पेशालाई निरन्तरता दिइरहेकी मौर्यले सरकारले किसानमुखी नीति बनाउन नसके कृषि क्षेत्रको दिगो विकास सम्भव नहुने धारणा व्यक्त गर्नुभएको छ ।

नेपालगञ्जको एक अस्पतालमा सहायक लेखा अधिकृतको जिम्मेवारी निर्वाह गर्दै अध्ययनलाई निरन्तरता दिनुभएकी मौर्य उच्च शिक्षा हासिल गर्ने उद्देश्यले काठमाडौँ पुग्नुभएको थियो। त्यहाँ होटल म्यानेजमेन्ट अध्ययनसँगै एम.कम.सम्मको अध्ययन पूरा गरेपछि उहाँ विदेश जाने योजनाअनुसार दक्षिण अमेरिकी मुलुक पाराग्वे पुग्नुभएको थियो ।

टुरिस्ट भिसामा पाराग्वे पुगेपछि उहाँले दुई हजार कुखुराबाट व्यावसायिक कुखुरापालन व्यवसाय सुरु गर्नुभयो। आधुनिक व्यवस्थापन र मेहनतका कारण व्यवसाय छोटो समयमै सफल बनेको उहाँ सुनाउनुहुन्छ। विदेशमै व्यवसाय विस्तार गर्ने अवसर हुँदाहुँदै पनि आमा–बुबाको आग्रहलाई सम्मान गर्दै उहाँ २०७१ सालमा नेपाल फर्किनुभयो ।

नेपाल फर्किएपछि पनि उहाँले कृषि पेशा नै रोज्नुभयो । अहिले पनि व्यावसायिक कुखुरापालनमा सक्रिय रहँदै आउनुभएकी मौर्यका अनुसार कृषि केवल जीविकोपार्जनको माध्यम मात्र नभई देशको आर्थिक समृद्धिको आधार हो ।

उहाँले पछिल्ला वर्षहरूमा सरकारले कृषकलाई दुई करोड रुपैयाँसम्म सहुलियत ऋण दिने नीति ल्याएको भए पनि त्यसको प्रत्यक्ष लाभ अधिकांश साना किसानसम्म नपुगेको बताउनुभयो। आवश्यक धितो, पहुँच र प्रक्रिया पूरा गर्न नसक्ने वास्तविक किसानभन्दा ठूला व्यवसायी तथा पहुँचवालाले बढी लाभ लिने अवस्था रहेको उहाँको भनाइ छ ।

मौर्यले साना तथा मध्यम किसानका लागि सहज पहुँच हुने गरी सानो परिमाणको सहुलियत ऋण, कृषि बीमा, उत्पादनको सुनिश्चित बजार र प्राविधिक सहयोगलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो । किसानलाई कागजी प्रक्रिया भन्दा उत्पादनमा केन्द्रित हुने वातावरण राज्यले सिर्जना गर्नुपर्ने उहाँको धारणा छ ।

कृषकको सामाजिक सुरक्षालाई समेत राज्यले प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो। उमेर बढ्दै जाँदा किसानको श्रम क्षमता स्वाभाविक रूपमा घट्दै जाने भएकाले किसानका लागि पेन्सन, स्वास्थ्य सुरक्षा र विशेष सामाजिक सुरक्षा प्याकेज आवश्यक रहेको उहाँको भनाइ छ ।

“किसानले जीवनभर देशका लागि अन्न उत्पादन गर्छन्,” उहाँले भन्नुभयो, “तर वृद्धावस्थामा उनीहरूका लागि कुनै सुनिश्चित सुरक्षा छैन। राज्यले किसानलाई उत्पादन गर्ने जनशक्तिका रूपमा मात्र होइन, राष्ट्र निर्माणका साझेदारका रूपमा पनि हेर्नुपर्छ ।”

मधेशी समुदायभित्र पनि विशेष गरी मौर्य समुदायको परम्परागत र प्रमुख पेशा कृषि नै रहेको उल्लेख गर्दै उहाँले कृषि संस्कृतिलाई संरक्षण गर्दै आधुनिक प्रविधिसँग जोड्न सके युवापुस्ता पनि कृषि क्षेत्रमा आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो ।

कृषिलाई राष्ट्रको पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै मौर्यले भन्नुभयो, “हाम्रो पहिलो प्राथमिकता कृषि नै हो । कृषि बलियो भयो भने देशको अर्थतन्त्र बलियो हुन्छ, रोजगारी बढ्छ र विदेश पलायन समेत घट्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button