ढुक्क भएर जिम्मेवारी निर्वाह गर्नुहोस्: गृहमन्त्री गुरुङ

गोरखा । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बलका राष्ट्रसेवक कर्मचारीलाई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनु भएको छ ।
मन्त्री गुरुङले गृह मन्त्रालय सधैँ सुरक्षाकर्मीको साथमा रहेको उल्लेख गर्दै कुनै पनि परिस्थितिमा विचलित नभई इमानदारी, अनुशासन र व्यावसायिकताका साथ राष्ट्रको सेवामा समर्पित हुन आग्रह गर्नुभयो ।
गोरखा स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २९ गुल्म ले आयोजना गरेको निर्देशनात्मक ब्रिफिङ कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री गुरुङले मुलुकको सुरक्षा प्रणालीमा सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आएको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । सीमा सुरक्षा, आन्तरिक शान्ति–सुरक्षा कायम गर्ने कार्यदेखि विपद् व्यवस्थापन, खोज तथा उद्धार, संवेदनशील क्षेत्रको सुरक्षा र नागरिकको जिउधनको रक्षामा सशस्त्र प्रहरीले देखाएको सक्रियता प्रशंसनीय रहेको गुरुङको भनाई थियो ।
बदलिँदो सुरक्षा चुनौतीसँगै सशस्त्र प्रहरीको जिम्मेवारी पनि थप विस्तार हुँदै गएको उल्लेख गर्दै प्रत्येक सुरक्षाकर्मीले कानुनको परिधिभित्र रहेर निष्पक्ष, पारदर्शी र जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो । नागरिकले सुरक्षाकर्मीप्रति गर्ने विश्वासलाई अझ मजबुत बनाउने गरी सेवा प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले जनमैत्री व्यवहार, अनुशासन र इमानदारीलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो ।
गृहमन्त्री गुरुङले सुरक्षाकर्मीको मनोबल नै सुरक्षा संयन्त्रको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै कर्मचारीको मनोबल उच्च राख्न गृह मन्त्रालय आवश्यक सहयोग, समन्वय तथा नीतिगत सहजीकरण गर्न प्रतिबद्ध रहेको बताउनुभयो । सेवा–सुविधा, कार्यसम्पादनको वातावरण तथा आवश्यक स्रोत–साधन व्यवस्थापनका विषयमा मन्त्रालयले निरन्तर पहल गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा गोरखा जिल्लाको समग्र सुरक्षा अवस्थाबारे विस्तृत समीक्षा गरिएको थियो । जिल्लामा शान्ति–सुरक्षाको वर्तमान अवस्था, विपद् व्यवस्थापनका लागि गरिएको तयारी, स्थानीय तह तथा अन्य सुरक्षा निकायसँगको समन्वय, नागरिकलाई प्रदान गरिँदै आएको सुरक्षा सेवा तथा आगामी कार्ययोजनाबारे सहभागीबीच छलफल भएको थियो। विशेषगरी वर्षायाममा हुन सक्ने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत ध्यान केन्द्रित गरिएको थियो ।
सशस्त्र प्रहरी बलका अधिकारीहरूले जिल्लामा सञ्चालन भइरहेका सुरक्षा गतिविधि, विपद् प्रतिकार्यको तयारी, जनशक्ति परिचालन तथा समसामयिक चुनौतीबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए। उनीहरूले आवश्यक स्रोत–साधन, पूर्वाधार र समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औँल्याएका थिए ।
ब्रिफिङ कार्यक्रममा सहभागी सशस्त्र प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले राष्ट्र र नागरिकको सुरक्षाका लागि खटिने सुरक्षाकर्मीको भूमिका सदैव सम्मानयोग्य रहेको उल्लेख गर्नुभयो । कठिन परिस्थितिमा पनि जिम्मेवारीबाट पछि नहट्न, कानुनी शासनको संरक्षण गर्न र नागरिकको विश्वास जित्ने गरी काम गर्न आग्रह गर्दै सरकार सुरक्षाकर्मीको मनोबल बढाउन आवश्यक सबै प्रकारको सहयोग गर्न तयार रहेको विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बलका जिल्ला तहका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्