तपाईँ सुन्दै हुनुहुन्छः

अतिक्रमण हटेपछि बाह्रकिलो वन क्षेत्र संरक्षण

गोरखा । गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो बजार क्षेत्रको वन अतिक्रमण हटाइएपछि त्यहाँको वन क्षेत्र संरक्षण, तारबार तथा वृक्षरोपणको काम सुरु गरिएको छ । 

करिब दुई दशकदेखि पसल प्रयोजनका लागि बनाइएका अस्थायी घर टहराले अतिक्रमणमा परेको वन क्षेत्रलाई पुनः संरक्षणमा ल्याउने उद्देश्यले डिभिजन वन कार्यालय गोरखाले संरक्षण अभियान अघि बढाएको हो । 

डिभिजन वन कार्यालय गोरखाले यसअघि पसल तथा व्यवसाय सञ्चालनका लागि निर्माण गरिएका अस्थायी टहरा हटाइएका स्थानमा तारबार गरी वन क्षेत्र सुरक्षित बनाएको छ ।  साथै सो क्षेत्रमा विभिन्न जातका बिरुवा रोपेर हरियाली विस्तारको अभियानसमेत सुरु गरिएको डिभिजनल वन अधिकृत मदनमोहन शाण्डिल्यले जानकारी दिनुभयो । 

शाण्डिल्यका  अनुसार कल्की, गुलमोहर, अम्बा, बकाइनो, परिजात, चाँप, वीरेन्द्र फूल, लप्सी लगायतका ५० वटा बिरुवा रोपिएको छ ।  रोपिएका बिरुवाको नियमित संरक्षण, स्याहार तथा आवश्यक हेरचाह गरी वन क्षेत्रलाई पुनः हराभरा बनाउने योजना रहेका उहाँको भनाई छ । 

बाह्रकिलो बजार क्षेत्रको यो वन जग्गा करिब २० वर्षअघि क्रमशः अतिक्रमणमा परेको थियो  र सडक छेउमा पर्ने वन क्षेत्रभित्र अस्थायी पसल, टहरा तथा व्यावसायिक संरचना निर्माण हुँदै जाँदा वन क्षेत्र साँघुरिँदै गएको थियो। यसले वनको प्राकृतिक स्वरूप मात्र बिगारेन, सडक सुरक्षा तथा वातावरणीय सन्तुलनमा समेत नकारात्मक असर पारेको स्थानीयवासी बताउँछन् । 

विशेषगरी बाह्रकिलो चोक आसपासको सडकमुनि रहेको भिरालो वन क्षेत्र अतिक्रमणका कारण थप जोखिमपूर्ण बन्दै गएको थियो ।  सडक किनारमा अनियन्त्रित रूपमा निर्माण गरिएका टहरा तथा संरचनाले सवारी चालकको दृश्य अवरुद्ध हुने, यात्रु तथा पैदलयात्रीलाई जोखिम बढ्ने र वर्षायाममा पहिरो तथा ढुङ्गा खस्ने सम्भावना समेत बढाएको थियो ।  स्थानीयका अनुसार विगतमा सो स्थानमा दृश्य अवरुद्ध र साँघुरो सडकका कारण पटक–पटक सवारी दुर्घटना हुने गरेका थिए । 

डिभिजन वन कार्यालयका अनुसार जिल्ला वन कार्यालयको निर्देशनमा गत असार ३० गते वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अस्थायी संरचना खाली गराइएको थियो । सम्बन्धित व्यवसायी तथा संरचना प्रयोगकर्तालाई पूर्वसूचना दिएर स्वैच्छिक रूपमा संरचना हटाउन आग्रह गरिएको र त्यसपछि वन क्षेत्र खाली गराइएको कार्यालयले जनाएको छ ।  अतिक्रमण हटाउने कार्यमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहको समेत समन्वय रहेको थियो । 

वन कार्यालयले अतिक्रमण हटाइएका स्थानलाई पुनः अतिक्रमण हुन नदिन तारबार, सूचना बोर्ड राख्ने तथा नियमित अनुगमन गर्ने तयारी गरेको छ ।  

यद्यपि बाह्रकिलो चोकभन्दा तलपट्टि वन क्षेत्रमै रहेका केही स्थायी संरचनाबारे भने अझै अन्योल कायम छ ।  वन कार्यालयले हालसम्म ती स्थायी संरचना हटाउने विषयमा कुनै ठोस पहल अघि नबढाएको देखिएको छ । स्थानीयवासीले वन क्षेत्रभित्र रहेका स्थायी संरचनाको कानुनी अवस्था स्पष्ट गरी आवश्यक निर्णय लिन सम्बन्धित निकायसँग माग गरेका छन् । 

स्थानीयको भनाइमा वन क्षेत्रको संरक्षणका लागि अस्थायी संरचना मात्र हटाएर पर्याप्त नहुने भएकाले वन जग्गामाथिको सम्पूर्ण अतिक्रमण अन्त्य गर्न आवश्यक छ  । वन क्षेत्रको दीर्घकालीन संरक्षणका लागि कानुनी प्रक्रिया पूरा गरी स्थायी रूपमा संरक्षण व्यवस्थापन गर्नुपर्ने उनीहरूको सुझाव छ । 

डिभिजन वन कार्यालयले भने वन क्षेत्रको संरक्षणलाई निरन्तर अभियानका रूपमा अघि बढाइने जनाएको छ ।  कार्यालयका अनुसार वन अतिक्रमण रोक्ने, हरियाली विस्तार गर्ने, सडक सुरक्षामा योगदान पु¥याउने तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइनेछ ।  वन क्षेत्र पुनः हराभरा बनेसँगै वातावरणीय सुधार, जैविक विविधताको संरक्षण र स्थानीय सौन्दर्य अभिवृद्धिमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button