बागमती सरकारद्वारा समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया सुरु

मकवानपुर । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा भएका पाँच वटा सहकारी संस्थाका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । मङ्गलवार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समस्याग्रस्त घोषणा भएका पाँच सहकारीका ४२ जना बचतकर्तालाई करिब १७ लाख रुपैयाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।
प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत जेठ २२ गते सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषित गरेको थियो । पहिलो चरणमा १० हजारदेखि एक लाख रुपैयाँसम्म बचत भएका साना बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गर्न सुरु गरिएको हो ।

उक्त पाँच सहकारी संस्थामा कुल ५१ हजार १९० सदस्यको करिब ३१ अर्ब ६ करोड रुपैयाँ बचत रकम रहेको छ । जस मध्ये समितिले सहकारीका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गर्दै १४ हजार ६४ बचतकर्ताबाट २२ अर्ब ३८ करोड मागदावी भएको जनाएको थियो । जसमध्ये ४२ जना बचतकर्तालाई आज करिब १७ लाख रुपैयाँ वितरण गरिएको जनाइएको छ ।
जावलाखेलस्थित बागमती प्रदेश सुशासन केन्द्रमा आयोजित कार्यक्रममा अभियानको शुभारम्भ गर्नुहुँदै मुख्यमन्त्री बानियाँले सहकारी पीडित नागरिकलाई न्याय दिलाउने कार्य सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । मुख्यमन्त्री बानियाँले लामो समयदेखि रोकिएको बचतकर्ताहरूको बचतलाई सुरक्षित र व्यवस्थित गर्दै प्रभावकारी ढङ्गले फिर्ता गर्ने काम प्रदेश सरकारले अगाडि बढाइएको जानकारी दिनुभयो । सो अवसरमा उहाँले बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने सहकारीका सञ्चालकहरूलाई कानुन बमोजिम कडा कारबाही गरिने समेत बताउनुभयो । कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी, बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीलगायत सरोकारवालाको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्