गाउँघरमा हराउँदै मौलिक ‘अर्म-पर्म’ को चलन
नवलपरासी। कुनै समय नेपाली ग्रामीण समाजको मुख्य खम्बा मानिने ‘अर्म-पर्म’ (श्रम साटासाट) को परम्परा अचेल गाउँघरबाटै हराउँदै जान थालेको छ।

समाज आर्थिक रूपमा बलियो भइनसकेको अवस्थामा घरायसी तथा कृषि कार्यका लागि एकअर्कालाई पालैपालो सघाउने यो चलन ग्रामीण जीवनको अभिन्न अङ्ग थियो।
विवाह ब्रतबन्धन,सामाजिक वा घरायसी कामका लागि एक अर्काले पालैपालो सघाउने चलन व्याप्त थियो ।खेत रोपाइँ, धान कटानी, घर निर्माणदेखि अन्य ठूला कामसम्म छिमेकी र आफन्त मिलेर निःस्वार्थ रूपमा सघाउने अर्म–पर्मको चलन ग्रामीण जीवनको अभिन्न प्रचलनका रूपमा स्थापित थियो।
तर आधुनिक जीवनशैली, वैदेशिक रोजगारी, बढ्दो मजदुरी प्रणाली र व्यक्तिवादी सोच,अर्थको प्रभाव र बस्तु साटासाटको चलन समेत हराउँदै गएका कारण समेत यो परम्परा बिस्तारै हराउँदै गएको छ।
पहिले गाउँमा कसैको खेत रोप्ने वा काट्ने दिन तोकिएपछि छिमेकीहरू स्वेच्छाले पुगेर काम गरिदिन्थे। त्यसको बदलामा अर्को दिन उनीहरूकै खेतमा उस्तै सहयोग गर्ने प्रचलन थियो। यसरी श्रम साटासाट गर्ने परम्पराले आर्थिक भार कम गर्नुका साथै सामाजिक सम्बन्ध पनि बलियो बनाउँथ्यो।
अहिले अधिकांश काम ज्यालादारी मजदुरबाट गराउन थालिएको छ। युवाहरू वैदेशिक रोजगारी तथा सहरमुखी भएपछि गाउँमा श्रम शक्ति अभाव हुनुका साथै सामूहिक रूपमा काम गर्ने संस्कार पनि कमजोर बन्दै गएको छ।बर्दघाट नगरपालिका वडा नम्बर १५ का स्थानीय एवम् पूर्व गाविस अध्यक्ष एकदेव पाण्डेले आधुनिकता सँगै समाज पैसामुखी मात्रै भएका कारण पनि श्रम साट्ने प्रचलन लोप हुँदै गएको बताउनु भयो । ‘हाम्रो पालामा धान रोपाइँ,घर निर्माण र प्रायजसो सबै काममा छरछिमेकी मिलेर एक अर्कालाई सघाउने चलन थियो,अहिले त्यो चलन हराएको छ,यो समयको बिकास र प्रविधिको विकासका कारण पनि हो’ पाण्डेले भन्नुभयो ।अहिले सामाजिक काममा समेत श्रम सहभागिता हराउँदै गएको उहाँ बताउनु हुन्छ ।श्रोत साधनको पर्याप्तता सँगै यान्त्रीकरणको विकासले समेत यस्तो भएको उहाँको भनाई छ ।
अर्म–पर्मको चलन हराउँदै जाँदा गाउँमा आपसी सद्भाव, सहयोग र सामाजिक एकता समेत प्रभावित बुढापाकाहरू बताउँछ छन्। पहिले कामसँगै दुःख–सुख साटासाट हुने, सम्बन्ध अझ प्रगाढ बन्ने वातावरण अहिले कम हुँदै गएको उनीहरूको बुझाई छ । ‘पहिला धान रोप्न पालै पालो रोल मिलाएर एक अर्काकोमा जाने चलन थियो अहिले प्रतिघण्टाको दरले ज्यालादारीमा मान्छे बोलाउनु पर्छ,त्यो पनि पाउनै मुस्किल’ बर्दघाट १४ गङ्गावस्तीका स्थानीय भानुभक्त तिवारीले भन्नू भयो ।
अर्म–पर्म केवल श्रम साटासाट गर्ने व्यवस्था मात्र नभई सामाजिक संस्कार निर्माण गर्ने महत्वपूर्ण परम्परा हो। यसले समुदायमा विश्वास, सहकार्य र आत्मीयता बढाउने भएकाले यसको संरक्षण आवश्यक रहेको उनीहरूको धारणा छ।संयुक्त परिवार एकलमा झर्नु,अवसरको खोजीमा जनशक्ति पलायन,अस्वस्थ सामाजिक प्रतिस्पर्धा लगायतका कारणले पनि अर्म पर्मको चलन हराउँदै गएको आम बुझाई छ ।
स्थानीय तह, विद्यालय र सामाजिक सङ्घसंस्थाले सामूहिक श्रम र सहकार्यलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्न सके अर्म–पर्म जस्ता मौलिक परम्पराको संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ। गाउँको पहिचान र सामाजिक एकताको प्रतीकका रूपमा रहेको अर्म
पर्मको संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न समुदाय स्तरमै पहल नहुँदा यसले आपसी सहिष्णुतालाई समेत कमजोर बनाएको देखिन्छ ।








प्रतिक्रिया राख्नुहोस्