१६ वर्षपछि छ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा
काठमाडौँ । नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ देखि संयुक्त राष्ट्रसङ्घीय महासन्धि अनुमोदन गरेको १६ वर्षपछि छ वटा अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गरेको छ ।
विसं २०६७ असार १ गते नेपालले अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि अनुमोदन गरेको थियो । पहिलो वर्ष सरकारले सूचीकरणका लागि निवेदन आह्वान गर्दा १०५ वटा आवेदन मन्त्रालयमा दर्ता भएको थियो । तीमध्ये ललितपुर जिल्लाका नेवार समुदायले बनाउने योमरी राष्ट्रिय सूचीकरण भएको थियो ।
योमरी अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरणमा पर्ने पहिलो अमूर्त सम्पदा हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसवर्ष पाँच वटा अभौतिक सांस्कृतिक सम्पदालाई राष्ट्रिय सूचीकरण गरेको छ । माझी समुदायले अभ्यास गर्ने लदी पूजा, मगर समुदायले मनाउने भूमे पर्व, मध्यपुर थिमी नगरपालिका–८ बोडेका श्रेष्ठ, ज्यापु, नकर्मीलगायत नेवा: समुदायले मनाउने जिब्रो छेड्ने जात्रा, सोही स्थानका नेवा: समुदायले मनाउने श्री नीलबाराही गण नाचलाई राष्ट्रिय सूचीकरण गरिएको हो ।
यसैगरी माडी गाउँपालिका–६ रोल्पाका मगर समुदायले मनाउने नचारु स्याइँ नाचलाई पनि राष्ट्रिय सूचीकरण गरिएको छ ।
मन्त्रालयले महासन्धिअनुसार विभिन्न समुदायको पहिचान एवं अभिलेखीकरणमार्फत अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण सम्बन्धित समुदायबाटै गर्ने कार्यलाई निरन्तरता दिन राष्ट्रिय सूचीकरण थालनी गरेको हो ।
अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२ मा भएको प्रावधान बमोजिम चालु आर्थिक वर्षमा मन्त्रीस्तरीय निर्णयबाट उक्त पाँच अभौतिक सांस्कृतिक सम्पदा राष्ट्रिय सूचीकरण गरिएको हो ।
सम्पदा राष्ट्रिय सूचीकरण गर्न लागि पर्ने व्यक्ति वा संस्थालाई अभौतिक सांस्कृतिक सम्पदा दिवस पारेर आज मन्त्रालयमा सम्मान गरियो । सम्पदा अभियानकर्मीलाई सम्मान गर्नुहुँदै मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले संस्कृतिका धनी देश नेपालका जात, जाति र संस्कृतिको सम्मानका लागि दिवस मनाउन थालिएको बताउनुभयो ।
अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा छलफलको चरणमा रहेको जानकारी उहाँले दिनुभयो ।
मन्त्रालयका सहसचिव डा सुरेशसुरस श्रेष्ठले अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि नेपालले अनुमोदन गरेको १५ वर्षपछि २०८२ असार १ गतेलाई यससम्बन्धी राष्ट्रिय दिवस मनाउन सुरु गरिएको जानकारी दिनुभयो ।
गत वर्ष सूचीकरणमा परेको ललितपुरका नेवार समुदायको योमरीलाई यसवर्ष संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) मा अन्तर्राष्ट्रिय सूचीकरणका लागि पठाइएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्