नेपालगञ्जमा शारीरिक सुगठन खेलप्रति युवाको आकर्षण बढ्दै
बाँके। नेपालगञ्जमा पहिलो पटक आयोजित प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। पूर्व खेलाडी समाज बाँकेको आयोजनामा सम्पन्न प्रतियोगिताले युवाहरूमा शारीरिक सुगठन खेलप्रतिको बढ्दो आकर्षणलाई उजागर गरेको छ।
पूर्व खेलाडी समाज बाँकेका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न प्रतियोगिताको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले गर्नुभएको थियो। कार्यक्रममा ओलम्पियन तथा सल्लाहकार सुरेन्द्र हमाल र सल्लाहकार गोबर्धन सिंह सम्झनालगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा जिल्लाका नौ वटा फिटनेस क्लबबाट ४० जना खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। खेलाडीहरूले शारीरिक बनावट, मांसपेशी विकास, प्रस्तुति कला र फिटनेस प्रदर्शनमार्फत दर्शकको ध्यान खिचेका थिए।
प्रतियोगितामा ओम फिटनेसले २ स्वर्ण, २ रजत र १ कांस्यसहित टिम च्याम्पियनको उपाधि जितेको छ। हेल्थ बेनि फिटनेसले १ स्वर्ण, १ रजत र १ कांस्यसहित दोस्रो स्थान हासिल गर्यो।
७५ केजी तौल समूहका दीपेन्द्र बहादुर खत्री ओभरअल च्याम्पियन घोषित भए। उनले सोही समूहमा प्रथम स्थान हासिल गर्दै प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्न सफल भए।
विभिन्न तौल समूहमा भएका प्रतिस्पर्धामा ५५ केजीमा युनिभर्सल जिमका बामदेब थापा, ६० केजीमा स्ट्रीम फिटनेस प्रा.लिका करण वाडिया, ६५ केजीमा ओम फिटनेसका जगतराम महावत, ७० केजीमा हेल्थ बेनि फिटनेसका सुगम रावल तथा ७५ केजीमाथिको समूहमा माई फिटनेस प्रा.लिका सतीस कुमार सोनी प्रथम भएका थिए।
समापन समारोहमा प्रमुख अतिथि प्रशान्त बिष्ट, ओलम्पियन सुरेन्द्र हमाललगायतले विजेता खेलाडीलाई ट्रफी, पदक, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए।
वक्ताहरूले शारीरिक सुगठनले युवालाई स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले खेलकुद विकास र नयाँ प्रतिभा पहिचानमा योगदान पुर्याउने बताए।
आयोजक पूर्व खेलाडी समाज बाँकेले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा सहभागी क्लब, खेलाडी, निर्णायक, स्वयंसेवक र दर्शकप्रति आभार व्यक्त गरेको छ।








प्रतिक्रिया राख्नुहोस्