तपाईँ सुन्दै हुनुहुन्छः

फेवातालमा डुङ्गा चालक र यात्रुको दुर्घटना बिमा 

पोखरा । पोखराको फेवा डुङ्गा व्यवसायी सङ्गठनले फेवातालमा डुङ्गा चालक र यात्रुका लागि दुर्घटना बिमा व्यवस्था लागू गरेको छ। शिखर इन्स्योरेन्ससँग एक वर्षका लागि गरिएको सम्झौताअनुसार डुङ्गा दुर्घटनामा घाइते भए उपचार खर्चबापत अधिकतम १ लाख रुपैयाँ र मृत्यु भए परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिइनेछ। सङ्गठनमा दर्ता भएका सबै डुङ्गामा यो व्यवस्था लागू हुनेछ।

हाल फेवातालका ८ डुङ्गा स्टेशनबाट ८४६ डुङ्गा सञ्चालनमा छन् र करिब ३५० चालक संलग्न छन्। सङ्गठनले पछिल्लो समय कायकिङ र सर्फिङजस्ता गतिविधि अनियन्त्रित रूपमा बढ्दा सुरक्षा चुनौती थपिएको जनाएको छ। पर्याप्त नियमनको अभावमा दुर्घटनाको जोखिम बढेको बताइएको छ।

सुरक्षाका लागि करिब २ हजार लाइफ ज्याकेट उपलब्ध गराइएको छ र सबै यात्रुका लागि अनिवार्य गरिएको छ। सामान्य डुङ्गाको भाडा प्रतिघण्टा ९ सय रुपैयाँ, १६ सिट क्षमताको प्याडल बोटको १ हजार ६ सय रुपैयाँ तोकिएको छ। वाराही घाटदेखि खपौदीसम्म दर्शनका लागि प्रति व्यक्ति १ सय रुपैयाँ शुल्क लाग्छ। सरोकारवालाले जल पर्यटन गतिविधिमा सुरक्षा र नियमन कडाइ गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button