तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको १५ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । प्रधान सेनापति महारथी अशोक राज सिग्देलले वर्तमान परिस्थितिमा स्वास्थ्य जनशक्तिको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न चिकित्सा शिक्षाको नारालाई अझ फराकिलो बनाउँदै लैजानु आजको आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको १५ औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई थप परिष्कृत र प्रभावकारी बनाउन चिकित्सा शिक्षा स्वास्थ्यसँग सम्बन्धित सबै निकायलाई सहकार्य, समन्वय र राय सुझावका लागि आग्रह गर्नुभयो ।

उहाँले संस्थानको स्थापनाको लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा योगदान दिने र सहयोग गर्ने सरोकारवाला सबैप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रधान सेनापति सिग्देलले एमबिबिएस उत्तीर्ण गरेका र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विभिन्न विद्यार्थीहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

यसैगरी कार्यक्रममा संस्थानमा अध्ययनरत मेडिकल ल्याब, रेडियोग्राफी, विएस्सी नर्सिङ लगायतमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पनि प्रमाणपत्र तथा नगद वितरण गरिएको थियो ।

सो अवसरमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक डा. देवेन्द्र बहादुर खत्रीले संस्थानको भावी कार्ययोजना लगायत आर्थिक र प्रशासनिक विषयमा जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button