तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सञ्जालले चिनाएको ‘शिव पहाड’

'प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको अनुपम सङ्गम'

अर्घाखाँची । अर्घाखाँची र कपिलवस्तुको सिमानामा रहेको भाइरल शिव पहाड अहिले आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ ।

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सामाजिक सञ्जालको प्रभावले यो स्थान छोटो समयमै चर्चित बनेको हो । महेन्द्र राजमार्ग भएर पूर्व पश्चिम यात्रा गर्ने अधिकांश यात्रुहरू यो पहाडमा एकपटक गाडी रोकेरै फोटो खिच्ने र भिडियो बनाउने गर्दछन् । मनमोहक दृश्य र शान्त वातावरणका कारण यहाँ पर्यटकको चहलपहल बढ्दो छ ।

कपिलवस्तुको वनकसबासा र धानखोलाको बिचमा पर्ने यो चुरे क्षेत्रमा यात्रा गर्दै गर्दा भाइरल पहाड आउने गर्दछ ।

महेन्द्र राजमार्ग अन्तर्गत पर्ने यो स्थान अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–११ र कपिलवस्तुको शिवराज नगरपालिका–१ मा फैलिएको छ । केही वर्षअघिसम्म सामान्य चट्टानी पहाडका रूपमा चिनिने यो क्षेत्र अहिले दैनिक सयौँ पर्यटकको गन्तव्य बनेको छ । महेन्द्र राजमार्ग निर्माणका क्रममा चट्टानी पहाड काटेर सडक विस्तार गरिएपछि बनेको यो भूआकृति सुरुवातमा खासै चर्चामा थिएन । यहाँ खिचिएका आकर्षक तस्बिर तथा भिडियो फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा भाइरल हुन थालेपछि यसको परिचय व्यापक रूपमा फैलियो । यहाँ पुग्नेहरू चट्टानी बनावट, हरियाली परिवेश र माथिबाट देखिने मनोरम दृश्यमा रमाउने मात्रै होइन; सामाजिक सञ्जालका लागि आकर्षक सामग्री पनि सिर्जना गर्छन् ।

यस पहाडको अर्को महत्त्वपूर्ण पक्ष भनेको यसको धार्मिक स्वरूप हो । स्थानीयवासी तथा शिवराज नगरपालिकाको सक्रियतामा यहाँ भगवान् शिवको चित्र कोर्ने, नागको मूर्ति स्थापना गर्ने तथा विभिन्न शिवलिङ्ग राख्ने कार्य गरिएको छ । जुन कार्यले पर्यटकलाई थप आकर्षण गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button