‘लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण’

विराटनगर । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले लोकतन्त्रको रक्षाका लागि सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ मोरङको वार्षिक साधारणसभाको आज विराटनगरमा उद्घाटन गर्दै अध्यक्ष शर्माले लोकतन्त्रलाई बलियो बनाउन प्रेस स्वतन्त्रता आवश्यक रहेको बताउनुभयो । पत्रकारिता पेसालाई थप सम्मानजनक र दिगो बनाउन सके लोकतन्त्र बलियो हुने उहाँको भनाई थियो ।
नीजि क्षेत्रका पत्रपत्रिकाहरूलाई विज्ञापन वितरणमा हुने भेदभाव अन्त्य गरी समान पहुँचको सुनिश्चित गर्न सरकारलाई उहाँले आग्रह गर्नुभयो । पत्रकार क्षेत्रका विकासका लागि तीन तहको सरकारको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष शर्माले पत्रकारको आन्दोलनमा आगामी दिन थप सशक्त रुपमा अगाडि बढाउने जानकारी दिनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सञ्चार क्षेत्र बलियो भएमा मात्र मुलुकमा भ्रष्टाचार अन्त्य भई सुशासन कायम हुने विश्वास व्यक्त गर्नुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले नागरिक समस्या समाधानमा कलम चलाउन सञ्चारकर्मीहरूसँग आग्रह गर्नुभयो ।
पत्रकार महासङ्घका मोरङ अध्यक्ष सुशिला पाठक, महासङ्घ कोशीका उपाध्यक्ष कुमोद अधिकारी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कटवाल, महासङ्घ मोरङका उपाध्यक्ष सन्तोष सिग्देल, सचिव नेत्र पि अधिकारी, महासङ्घ कोशीका संस्थापक अध्यक्ष विक्रम लुइँटेल, पूर्व अध्यक्ष लिलावल्लभ घिमिरे, पूर्व महासचिव विवेक शर्मा, महासङ्घ मोरङका पूर्व अध्यक्ष यज्ञ शर्मा र नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका उपाध्यक्ष रविन दाहाललगायतले संञ्चारकर्मीहरुको कारण नागरिकको सूचना पाउने हक सुनिश्चित भएको बताउनुभयो ।
सो अवसरमा केन्द्रीय अध्यक्ष शर्माले सञ्चारकर्मी रामचन्द्र अधिकारीले विद्यावारिधि, महासङ्घ मोरङ शाखाका कार्यालय सचिव दिपक फुयाँल नगदसहित र न्यूरो अस्पताल विराटनगरले सञ्चारकर्मीको स्वास्थ्य उपचारमा विगतदेखि सहयोग गर्दै आएकोमा सम्मान गर्नुभयो ।
साधारण सभामा संस्थाको वार्षिक कार्यक्रम, आर्थिक विवरण तथा आगामी दिनको कार्य योजनामाथि छलफल गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्