तपाईँ सुन्दै हुनुहुन्छः

छैटौँ अन्नपूर्ण म्याराथन जेठ २० गते हुने

पोखरा । नेपालकै चर्चित अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म सञ्चालन हुने छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन–२०८३ को तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितामा हालसम्म नेपालसहित ६ देशका ४० धावकले सहभागी हुनको लागि नाम दर्ता गराएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

यही जेठ १५ सम्म खेलाडीको नाम दर्ता गर्न सकिने भएकाले अझै ३० जना धावकले आफ्नो नाम दर्ता गराउन सक्ने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं म्याराथन संयोजक ललित गुरुङले बताउनुभयो । नेपालीसहित कुल ७० धावकलाई सहभागी गराउने लक्ष्य रहेकोमा हालसम्म नेपाल सहित ६ देशका ४० जना धावकहरूले नाम दर्ता गराएको उहाँले जनाउनुभयो । स्थानीय धावकदेखि विभागीय टोलीका खेलाडीसम्म प्रतियोगितामा सहभागी हुने संयोजक गुरुङले जनाउनुभयो ।

४२.१९५ किलोमिटर दूरीको म्याराथन अन्नपूर्ण आधार शिविरबाट सुरु भई पर्यटन पदमार्ग हुँदै माछापुच्छ्रे आधार शिविर, देउराली, दोभान, बम्बो, छोम्रोङ, घुर्जुङ, मेलाँचे, किम्रोङखोला पार गर्दै घान्द्रुकस्थित श्री मेश्रोम वराह माध्यमिक विद्यालयको खेल मैदानमा पुगेर समापन हुनेछ । 

प्रतियोगितामा महिला तथा पुरुषतर्फका विजेताले क्रमशः नगद रु १ लाख ५० हजार, १ लाख र ७५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

यसैबीच, “अन्नपूर्ण पत्रकारिता पुरस्कार–२०८२” प्रदान गरिने र समापन समारोहमा विविध सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिने भएको छ ।

सन् १९५० को जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमाल सफलतापूर्वक आरोहण गरेका दिनको सम्झनामा आयोजना हुने यस म्याराथनले साहसिक खेलकुद र हिमाली पर्यटन प्रवर्द्धनमा नयाँ योगदान पुर्‍याउने अपेक्षा गरिएको संयोजक गुरुङले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button