हेटौंडा–काठमाडौं वैकल्पिक सडक विस्तारमा प्रदेश सरकारको चासो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने वैकल्पिक ‘भीमफेदी–कोगटे–इपा–सिस्नेरी’ सडकखण्ड विस्तारमा प्रदेश सरकारले चासो देखाएको छ ।
बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले प्राविधिक टोलीसहित प्रस्तावित सडकखण्डको स्थलगत निरीक्षण गर्नुभएको छ । टोलीमा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, यातायात पूर्वाधार निर्देशनालयका निर्देशक नवीनकुमार सिंह र पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख सुजन भण्डारी सहभागी हुनुहुन्थ्यो ।
अनुगमनका क्रममा मन्त्री देवकोटाले सडक क्षेत्रको भौगोलिक अवस्था, हरित उद्यमशीलता, पकेट क्षेत्र विस्तार तथा पर्यटकीय सम्भावनाबारे जानकारी लिनुभएको थियो । उहाँले सडक निर्माणले स्थानीय जीवनयापन सहज बनाउने र वैकल्पिक आवागमन मार्गका रूपमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
मन्त्री देवकोटाले सडक निर्माणलाई पूर्वाधारसँगै कृषि र पर्यटनमा आधारित आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले ग्रामीण उत्पादनलाई बजारसम्म पुर्याउने र गाउँबाट फर्किंदा कृषि उपज लैजाने परिपाटी विकास गर्नुपर्ने बताउनुभयो ।
भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार प्राविधिक प्रतिवेदनले यो सडक प्राविधिक रूपमा सम्भाव्य देखाएको छ । करिब ३० किलोमिटर लामो प्रस्तावित मार्गमा हालसम्म ९ किलोमिटर कालोपत्रे भइसकेको छ भने आवश्यक तीनमध्ये दुई पुल निर्माण सम्पन्न भइसकेका छन् ।
गाउँपालिकाका अनुसार करिब ५० करोड रुपैयाँ लगानीमा सडक पूर्ण रूपमा स्तरोन्नति गर्न सकिने अनुमान गरिएको छ । यसबाट भीमफेदी, इपा र कोगटे क्षेत्रका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय तह र प्रदेश सरकारको समन्वयमा आगामी आर्थिक वर्षदेखि सडक विस्तारले गति लिने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्