तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार 

जुम्ला । जुम्लामा मनसुन तथा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ अनुमोदन गरिएको छ । 

सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन गरिएको हो । 

मनसुन भित्रिनु अगावै विपद पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता गरेका छन् । विपद्का बेला जनधनको क्षति कम गर्न तथा राहत उद्धारलाई प्रभावकारी बनाउन बजेट, सामाग्री, जनशक्ति तथा भावी कार्ययोजनासहित आठै पालिकाले प्रतिकार्य योजना तयार गरेका छन् । आठै पालिकामा विपद् लक्षित खाद्यान्न, विपद् उद्धार सामाग्री, तालिम प्राप्त जनशक्ति तथा बजेटसहित प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयन गर्ने तयारीमा छन् । 

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको सक्रियताले जिल्लाका आठै पालिकालाई विपद् पूर्वतयारी तथा प्रतिकार्यमा जुटेका छन् । यद्यपि जुम्लाका आठ पालिका मध्ये केही पालिकाले भने विपद् कोष स्थापना गरेको बजेट विनियोजन नगरेको भेटिएको छ ।

जिल्ला प्रशासन कार्यालय सहित तातोपानी, चन्दननाथ लगायतका केही पालिका विपद् व्यवस्थापनमा सक्रिय भएर जुटेका छन् । सोमबार अनुमोदन गरिएको विपद् प्रतिकार्य योजना अन्तरर्गत जुम्लाको तातोपानी गाउँपालिकाले जिल्लामै सबैभन्दा बढी बजेट विपद् कोषमा जम्मा गरेको पाइएको छ । 

तातोपानी गाउँपालिकाले ५८ लाख ५० हजार बजेट विपद कोषमा जम्मा गरेको छ । गुठिचौर गाउँपालिकाले ९ लाख, सिंजा गाउँपालिका १५ लाख  र जिल्ला विपद् व्यवस्थापन समितिमा १३ लाख ४१ हजार ६८५ रुपैयाँ गरी झण्डै ९८ लाख बढीको विपद् कोष खडा भएको छ । विपद्को उच्च जोखिममा रहेको चन्दननाथ नगरपालिकामा विपद् कोष नै नभएको पाइएको छ । 

हिमा, तिला, कनकासुन्दरी र पातारासी गाउँपालिकामा विपद् कोष भएको तर कति बजेट विनियोजन गरिएको भन्ने खुलेको छैन । विगतको तुलनामा नागरिकलाई विपद्का घटनाबाट जोगाउन समग्र जिल्ला नै सक्रिय रुपमा लागि परेको छ । 

२०७९ सालमा परेको बेमौसमी वर्षाले आएको बाढी पहिरोले जुम्लामा ठुलो जनधनको क्षति गरेपछि त्यसयता जिल्लामा विपद् पूर्वतयारी तथा प्रतिकार्यमा सक्रियता बढाइरहेको छ । जिल्लामै नमुनाका रुपमा विपद् प्रतिकार्य तथा पूर्वतयारीमा काम गरिरहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले प्रतिकार्य योजना निर्माण गरेर मात्र नहुने भन्दै पालिका स्तरमै पुगेर स्थलगत अनुगमन गर्नुपर्ने बताउनुभयो । तातोपानीले नागरिकको सुरक्षालाई ध्यान दिँदै सबैभन्दा बढी ५८ लाख ५० हजार विपद् कोषमा जम्मा गरेको उल्लेख गर्नुभयो । 

चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले नगरपालिका विपद्को उच्च जोखिममा रहेपनि एकल प्रयासले प्रतिकार्य गर्न सम्भव नरहेको बताउनुभयो । विपद् कोषमा ठोस बजेट नदेखिए पनि वर्षमा करोडभन्दा बढी बजेट विपद् व्यवस्थापनमै खर्च गरिरहेको उल्लेख गर्नुभयो । 

प्रमुख जिल्ला अधिकारी पौडेलले विपद व्यवस्थापन, राहत उद्धारका लागि प्रतिकार्य योजना कार्यान्वयनमा शुन्य सहनशीलता अपनाइने बताउनुभयो । अवैध नदीजन्य वस्तुको उत्खननलाई नियमन गर्नेदेखि कारबाही प्रक्रियालाई कडाइ रुपमा अघि बढाइने उल्लेख गरे । 

गृह मन्त्रालय विपद् प्राधिकरणको निर्देशन अनुसार जुम्लामा धेरै चरणमा छलफल गरी विपद् प्रतिकार्ययोजना निर्माण गरी केन्द्रमा पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button