तपाईँ सुन्दै हुनुहुन्छः

महेशपुर भन्सारमा क्वारेन्टाइन निर्माण योजनामै सीमित 

नवलपरासी । भारतसँग सीमा जोडिएको पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार क्षेत्रमा आवश्यक क्वारेन्टाइन सेवा नहुँदा पशुजन्य तथा कृषिजन्य वस्तुको परीक्षण प्रभावकारी बन्न सकेको छैन। 

सम्बन्धित निकायको बेवास्ताका कारण एकातर्फ राजस्व सङ्कलनमा असर परेको छ भने अर्कोतर्फ अस्वस्थ तथा गुणस्तरहीन वस्तु भित्रिने जोखिमसमेत बढ्दै गएको स्थानीयको गुनासो छ।

सीमावर्ती नाकाबाट दैनिक रूपमा पशुचौपाया, तरकारी, फलफूल तथा विभिन्न खाद्यान्न सामग्री भित्रिने गरे पनि परीक्षण र निगरानीको पर्याप्त व्यवस्था नहुँदा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खतरा बढेको सरोकारवालाहरू बताउँछन्। क्वारेन्टाइन अभावकै कारण कतिपय वस्तु बिना परीक्षण बजारसम्म पुग्ने अवस्था रहेको जनाइएको छ।

पछिल्लो समय क्वारेन्टाइन चेक पोस्ट निर्माणका लागि कुनै पहलबारे आफ्नो जानकारीमा नभएको भन्सार प्रमुख बिकास उपाध्यायले जानकारी दिनुभयो । “क्वारेन्टाइन छैन, कुनै व्यापारीले यो नाका भएर क्वारेन्टिन गर्नुपर्ने सामान ल्याउँछु भन्यो भने नल्याउनुस् भन्नुपर्ने अवस्था छ, खाद्यान्न, फलफूल तरकारी लगायतका सामान आयात हुन नसक्दा राजस्व सनेत गुमेको छ”, उपाध्यायले भन्नुभयो ।

स्थानीय व्यवसायीका अनुसार व्यवस्थित क्वारेन्टाइन नहुँदा वैधानिक प्रक्रियाबाट आयात गर्ने व्यवसायीभन्दा अवैध रूपमा सामान भित्र्याउने समूह सक्रिय हुने गरेका छन्। यसले राज्यलाई प्राप्त हुने राजस्वमा समेत कमी आएको उनीहरूको भनाइ छ। खुला सीमाको फाइदा उठाउँदै चोरी पैठारी बढ्दा सरकारको आम्दानी प्रभावित भइरहेको सरोकारवालाले बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य केशव भण्डारीले विगतमा क्वारेन्टाइन निर्माणका लागि जग्गा खरिद गर्ने छलफल भएर प्रक्रिया अघि बढाइए पनि अन्तमा कृषि मन्त्रालयको निष्क्रियताका कारण स्थापना हुन नसकेको बताउनुभयो ।  भन्सारको स्तरीकरण गर्नुपर्ने आवाजहरू विगतदेखि नै उठाउँदै आएपनि सफल हुन नसकेको उहाँले बताउनुभयो ।

भन्सार प्रमुख उपाध्यायका अनुसार गत आर्थिक वर्षमा कार्यालयले १६ करोड ६६ हजार अर्थात् १०३ प्रतिशत  राजस्व सङ्कलन गरेको थियो ।

कृषि तथा पशु स्वास्थ्यसँग सम्बन्धित जोखिम बढ्दै जाँदा पनि सम्बन्धित निकायले स्थायी क्वारेन्टाइन स्थापना तथा जनशक्ति व्यवस्थापनमा चासो नदेखाएको स्थानीयले बताएका छन् । सीमा नाकाको संवेदनशीलतालाई मध्यनजर गर्दै तत्काल क्वारेन्टाइन सेवा सञ्चालन गर्नुपर्ने माग उठ्दै आएपनी ठोस पहल हुन सकेको छैन ।

महेशपुर भन्सार क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक पूर्वाधार, प्राविधिक जनशक्ति तथा नियमित निगरानीको व्यवस्था गर्नु पर्ने देखिएपनि सम्बन्धित पक्ष उदासिन देखिएका छन् । खुला सीमा र चोर नाकाबाट विषादीयुक्त बिना क्वारेन्टाइन बस्तु भित्रँदा आम उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड भएको छ । क्वारेन्टाइन निर्माण र भन्सार स्तरोन्नतिका नाममा विभिन्न राजनीतिक दलहरूले जस लिने होडबाजी भने विगतदेखि नै चल्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button