तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वी नेपालको पर्यटकीय गन्तव्य बन्दै मोरङको जेफाले डाँडा

विराटनगर । मोरङ जिल्लाको उत्तरी भेगमा पर्ने बादल, हिमाल र संस्कृतिको संगम जेफाले डाँडा पछिल्लो समय प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिएसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

समुद्री सतहबाट करिब १८ सय मिटर उचाइमा अवस्थित केराबारी गाउँपालिका–२ मा पर्ने जेफाले डाँडा प्राकृतिक सौन्दर्य, हिमाली दृश्यावलोकन, सांस्कृतिक विविधता र सामुदायिक होमस्टेका कारण पर्यटकको रोजाइमा पर्न थालेको हो ।

तराईमा हुने अत्यधिक गर्मीको समयमा पनि मोरङ–सुनसरी तथा धनकुटा जिल्लाको सीमा क्षेत्र नजिकको यो डाँडामा छिनछिनमा हुने चिसा मौसम तथा त्यहाँ लाग्ने बाक्लो हुस्सुले पर्यटकको मन लोभ्याउने गरेको छ ।

‘हावेचौरी’ नामले समेत चिनिएको २६ घरधुरी रहेको  जेफालेमा  केही मिनेट अघिसम्म घाम लागिरहेको ठाउँ अचानक बाक्लो हुस्सुले ढाक्ने र फेरि केहीबेरमै मौसम खुल्ने दृश्यले यहाँ पुग्ने जो–कोहीलाई रोमाञ्चित बनाउँछ । 

त्यहाँ निर्माण भएको चार तल्ले भ्यु टावरबाट पूर्वका १६ जिल्लाको दृश्यावलोकन तथा मौसम सफा भएको वेला विश्वकै सर्वोच्च शिखर सगरमाथा र कञ्चनजङ्घा समेत देख्न सकिन्छ ।

भ्यु टावरबाट सूर्योदयको दृश्य हेर्न सकिन्छ भने  पाथीभरा मन्दिर, मोरङ जिल्लको एक मात्र चिया बगान मातृभूमि टिस्टेट, तिनचाने ढुङ्गा तथा अजंगको रुख हेर्न  पर्यटकहरू त्यहाँ पुग्ने गर्दछन् ।  

जेफाले सामुदायिक होमस्टेका  सचिव भीम ठकुरीका अनुसार जेफालेमा वार्षिक चार देखि पाँच हजारको हाराहारीमा आन्तरिक पर्यटकहरू आउने गर्दछन् । मोरङ, सुनसरी, झापा, धनकुटा तथा सर्लाही जिल्लाबाट समेत पर्यटकहरू त्यहाँ आउने गरेका छन् । पर्यटनको सम्भावनै सम्भावना बोकेको जेफाले पर्यटकको रोजाइमा परे पनि सो ठाउँमा प्रहरी चौकी नहुँदा सुरक्षाको समस्या, टेलिफोनको टावर नहुँदा मोबाइल नलाग्ने र बिजुली गइरहने समस्या छ । सुगम जिल्लको रुपमा मोरङ जिल्लालाई चिनिए पनि सोही जिल्लाको उत्तरी भेगमा रहेको जेफाले भने विकास र पूर्वाधारमा पछाडि परेको सामुदायिक होमस्टेका सचिव ठकुरीको भनाई छ । 

धनकुटाको भेडेटार, नाम्जे, राजारानी तथा सामेवा हुँदै जेफाले पुग्न सकिन्छ । सम्वेवा सम्मको बाटो सहज भएपनि त्यहाँ देखि जेफाले सम्मको डेढ किलोमिटर बाटो साँगुरो र खाल्डाखुल्डी हुँदा साना गाडीलाई त्यहाँ पुग्न निकै समस्या हुने गरेको छ । 

डेढ किलोमिटर बाटोको स्तरोन्नति हुनसके सो ठाउँमा उल्लेखनीय रुपमा पर्यटकहरू आउने सामुदायिक होमस्टेका सञ्चालक राजु खडकाको भनाई छ ।  बाटो निर्माणका लागि स्थानीय तथा कोशी प्रदेश सरकारले बजेट छुटाए पनि काम हुन नसकेको उहाँको भनाई छ ।

पर्यटनलाई व्यवस्थित बनाउन त्यहाँ घुम्न आउने पाहुनाहरूको बसाइँका लागि त्यहाँ ९ वटा घरमा सामुदायिक होमस्टे सञ्चालनमा छन् । पाहुनालाई स्थानीय उत्पादनबाट बनेका परिकार खुवाइन्छ । लोकल कुखुराको मासु, ढिँडो र सिस्नु, स्कुसको मुन्टा, कोदो/फापरको रोटी आलु तरकारी यहाँका विशेष परिकार हुन् । साँझपख मगर समुदायको हुर्रा नाच र लिम्बू समुदायको धान नाचले यहाँ आउने पाहुनालाई स्थानीय संस्कृतिसँग नजिक बनाउँछ ।

फागुनदेखि जेठ महिना सम्म पर्यटकको चाप उच्च रहने जेफालेमा सो अवधिमा एक होमस्टेबाट मासिक एक लाखदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button