तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

रौतहट । रौतहटको परोहा नगरपालिका–६ बसन्तपट्टी चौकस्थित हुलाकी सडक खण्डमा सोमबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई बालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कोप्वाबाट फतुवातर्फ जाँदै गरेको म.प्र.०५–००१प ०१८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । 

दुर्घटनामा मोटरसाइकल चालक बारागढी गाउँपालिका–३ मुर्कीपालियाका अन्दाजी २२ वर्षीय मुकेश मुखिया गम्भीर घाइते भएका थिए । उनको अनुहार र टाउकोमा चोट लागेको थियो । उपचारका लागि वीरगञ्जस्थित मेट्रो सिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा सोमबार अपराह्न करिब ३ बजे मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको शव सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार राजपुर नगरपालिका–२ निवासी रामजी मुखियाका छोरा अन्दाजी १० वर्षीय शिवजी मुखिया र ८ वर्षीय सुजित मुखिया घाइते भएका छन् । दुवै बालकको शरीरका विभिन्न भागमा चोट लागेको तथा अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिनुभयो । घाइते दुवै जनाको मेट्रो सिटी अस्पताल वीरगञ्जमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

घटनापछि इलाका प्रहरी कार्यालय कोप्वापिपरियाबाट प्रहरी टोली खटिएको थियो । दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button