सिस्ने गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा
रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिकालाई “पूर्णखोप सुनिश्चितता तथा दिगोपना” घोषणा गरिएको छ ।

सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा गाउँपालिकालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।
स्वास्थ्य शाखा संयोजक सुरेन्द्र यादवका अनुसार गाउँपालिकाभित्रका लक्षित बालबालिकाले नियमित खोप सेवा प्राप्त गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
स्वास्थ्य कार्यालय रुकुम पूर्वका प्रमुख पशुपति आचार्यले खोप कार्यक्रम बालबालिकाको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै नियमित खोप अभियानलाई अझ प्रभावकारी बनाउन सबै तहको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी सीता परियारले पूर्ण खोप सुनिश्चितता कायम राख्नु चुनौतीपूर्ण कार्य भएको उल्लेख गर्दै स्थानीय तह, स्वास्थ्यकर्मी तथा समुदायबीचको समन्वयले मात्र दिगोपना सम्भव हुने बताउनुभयो ।
जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठले सिस्ने गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा हासिल गरेको उपलब्धि प्रशंसनीय रहेको बताउनुभयो । उहाँले पूर्ण खोप घोषणा केवल औपचारिकता नभई यसको प्रभावकारी कार्यान्वयन र निरन्तरतामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका अध्यक्ष तथा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले पूर्ण खोप सुनिश्चितता घोषणा गाउँपालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा पनि कुनै बालबालिका खोप सेवाबाट वञ्चित नहुने वातावरण निर्माण गरिने बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा कार्यालय सहयोगीहरूलाई सम्मान गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्