तपाईँ सुन्दै हुनुहुन्छः

‘कसरी विश्व बजारमा नेपाली सिनेमा जाला?’

कास्की । नेपाली सिनेमाले बिस्तारै विश्व बजारमा प्रतिनिधित्व जनाउँदै जाँदा यसले राम्रो सङ्केत दिएको विषयमा चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा चौथो संस्करणको सिनेमा संवादअन्तर्गत विभिन्न सेसनमा घनीभूत छलफल भयो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा ८, ल्वाङमा शनिबार पहिलो सेसनमा ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ विषयमा अभिनेत्री बेनिशा हमाल र लेखक, निर्देशक एवं निर्माता सामीप्यराज तिमिल्सिनासँग सञ्चारकर्मी बिमला थापाले भलाकुसारी गर्नुभयो ।

संवादका क्रममा नेपाली सिनेमाको बजार बिस्तारै ग्लोबल मार्केटमा पुगिसकेको र यसको अब विकास र बिस्तार आवश्यक रहेकोबारे चर्चा भयो । सहजकर्ता थापाले नेपाली फिल्म ग्लोबलमा मार्केटमा कहिले छिर्छ भन्ने जिज्ञासामा चलचित्र समीक्षक समेत रहेका तिमिल्सिनाले भन्नुभयो, ‘ग्लोबल मार्केटमा हामीहरू छिरिसक्यौँ, अब कति हल्ला मच्चाउने भन्ने बाँकी छ ।’

मीन भाम निर्देशक नेपाली फिल्म ‘शाम्बाला’ अघिल्लो वर्ष बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलको इतिहासमै नयाँ कीर्तिमान कायम गर्न सफल भएको थियो । कान्स फिल्म फेस्टिभलमा समेत नेपालले सहभागिता जनाइसकेको छ । जबकि ठूलो उद्योग मानिएको भारतले समेत नेपालजस्तो एचिभ गर्न नसकेको तिमिल्सिनाको भनाइ थियो । उहाँले बाँकी धेरै उद्योगको तुलनामा नेपाली फिल्म उद्योग ग्लोबल मार्केटमा पुगेको चर्चा गर्नुभयो ।

उहाँका अनुसार ‘उनको स्विटर’ले अस्ट्रेलिया, न्यूजिल्याण्ड, युएईको मार्केटबाट मात्रै ६ करोडको ब्यापार गरेको छ । ‘जेरी एण्ड टप’ले अस्ट्रेलियाबाट साढे ३ करोडको व्यापार गरेको छ । यी दुई फिल्मले भारतीयको मार्केटमा पनि ३ करोडको जति बिजनेस गरिसकेका छन् ।

अभिनेत्री बेनिशा हमालले फिल्म करियरको सुरुआति समयमा विदेश घुम्दा वर्ल्ड सिनेमा कस्तो हुँदो रहेछ भन्ने बुझ्ने मौका मिलेको स्मरण गर्नुभयो । करिब १० वर्षअघि ‘कालोपोथी’ फिल्मको हिस्सा भएका कारण टोकियो र सिंगापुरमा भएका फिल्म फेस्टिभलमा जाँदा आफू एक्सपोजर हुने मौका मिलेको पनि बताउनुभयो । 

संवादका क्रममा नेपाली फिल्म ज्यादै प्रयोग भएको समय अहिले भएको बताइयो । तिमिल्सिनाले भन्नुभयो, ‘नेपाली फिल्म ज्यादै एक्सपेरिमेन्ट भएको समय नै अहिले हो । रोनाधोना मात्र खालका फिल्म छैनन् ।’  गत वर्ष पाँच दर्जन जति फिल्म रिलिज भए । निकै रोचक खालका फिल्म पनि बने । तर तिनीहरूमध्ये केहीले बक्स अफिसमा त्यो लेभलमा प्रुफ गर्न सकेनन् ।

संवादको दोस्रो सेसनका वक्ताहरूले नयाँ पुस्ताले पुरानाको राम्रो विषय आत्मसात गर्दै जानुपर्नेमा जोड दिएका थिए । ‘नयाँ पुस्ता र नेपाली सिनेमा’ विषयको सेसनमा नायिका द्वय आँचल शर्मा, सनिसा भट्टराई, नायक सलोन बस्नेतसँग सञ्चारकर्मी उत्सव रसाइली संवादमा थिए ।

संवादमा नायिका आचल शर्माले आफूहरूले अबका पुस्तालाई सिर्जनात्मक र फरक विषय छाडेर जानुपर्ने बताउनुभयो ।

नायक सलोन बस्नेत पनि आफू स्टोरियो टाइम स्टोरी ब्रेक गर्न ‘युनिभर्सिटी अफ गुन्डाज’ चलचित्र ल्याउन प्रयास गरिरहेको बताउनुभयो । 

नायिका सनिसा भट्टराईले महिला सशक्तीकरणमा चलचित्र बन्नुपर्नेमा जोड दिनुभयो ।  ‘यहाँ फिमेल लिड भएको चलचित्र चल्दैन भन्ने गरिन्छ । तर, राम्रो स्टोरी जेन्डरमा फस्दैनन्,’ उनले भनिन्, ‘महिलाहरूलाई पनि चान्स दिनुपर्छ ।’ 

पर्यटकीय गाउँ ल्वाङमा आयोजित ‘सिनेमा संवाद’ मा अभिनेता लिखित उप्रेतीले खिरमा ल्वाङ हाल्ने किन नहाल्ने विषयलाई द्वन्द्वको परिभाषामा सजिलो तरिका पस्किनुभयो । उहाँले भन्नु भयो, ‘खिर पकाउँदा ल्वाङ नहाले पनि खिर त बन्छ नि । खलनायक बन्छ तर ल्वाङ हालिसकेपछि त्यसले दिने काम त्यत्तिकै उपयोगी हुन्छ ।’

चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले बर्सेनि आयोजना गर्दै आएको सिनेमा संवादको चौथो संस्करण ल्वाङमा लगेको थियो । विभिन्न चार सेसनमा चलचित्रका हरेक कोणको घनीभूत छलफल भएको उक्त कार्यक्रमको तेस्रो सेसनमा एक समयमा निकै चम्किएका स्टन्ड नायक निखिल उप्रेती र लेखक–निर्देशक मनोज पण्डित । 

सञ्चारकर्मी सन्जोक बस्यालले सहजीकरण गरेको सो सेसनमा ‘सिनेमामा द्वन्द्व ः दर्शकको माग कि उद्योगको दबाब रु’ विषयमा गफिँदै अभिनेता उप्रेतीले सिनेमामा द्वन्द्व राख्दा त्यसको आवश्यकताबारे प्रस्ट पार्नुपर्ने जोड दिनुभयो । उहाँले अगाडि भने, ‘चलचित्रमा द्वन्द्वलाई राम्रो तरिकाले व्यक्त गरिएको हुँदैन । द्वन्द्व व्यक्त गरे पनि द्वन्द्व हुनुको घटनालाई गरिएको हुँदैन ।’

लेखक तथा निर्देशक पण्डित चाहिँ फिल्ममा पात्रले जुन कुरा गर्छ, उसमा आउने असहज परिस्थिति द्वन्द्व हो भनी परिभाषित गर्छन् । उहाँले महाभारतको कथालाई उदाहरण दिँदै भने, ‘महाभारतको सबैभन्दा बढी सम्झना हामीलाई आउने भनेको जब अर्जुनले भगवान् कृष्णलाई रथ रोक्न खोज्नु हो, त्यो सबैभन्दा ठूलो द्वन्द्व थियो ।

सिनेमा संवादमा ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’ विषयमा केन्द्रित रहेर गहन छलफल गरिएको छ ।

संवादको अन्तिम सत्रका रुपमा भएको छलफलमा कन्टेन्ट क्रियटर इस्टु कार्की र महेश भण्डारीसँग चलचित्र पत्रकार सन्ध्या थापाले भलाकुसारी गर्नुभयो ।  छलफलको सुरुमै इस्टु कार्कीले सिनेमा र सामाजिक सञ्जालमा देखिने सामग्री (कन्टेन्ट) लाई फरक रुपमा हेर्न नहुने तर्क गर्नुभयो ।

अर्का वक्ता महेश भण्डारीले कन्टेन्ट क्रिएसन सामाजिक सञ्जाल आउनु भन्दा पहिलेदेखि नै समाजमा अस्तित्वमा रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button