कोशी प्रदेश सरकारद्वारा आठ जना क्रियाशील पत्रकार पुरस्कृत

विराटनगर । कोशी प्रदेश सरकारले लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील आठ जना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको छ ।
राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज प्रदेश सरकारले कोशी प्रदेशका विभिन्न जिल्लामा क्रियाशील पत्रकारलाई जनही एक÷एक लाख नगद तथा कदर पत्र सहित पुरस्कृत गरेको हो ।
प्रादेशिक पत्रकारिता पुरस्कारबाट पत्रकार शेखर रेग्मी, सिद्धराज राई, गोपाल दाहाल, विवेक गौतम, मनोज श्रेष्ठ, रेजिना गौतम, सन्तोष रुचाल र श्यामसुन्दर सुतिहारलाई प्रदेश सरकारले पुरस्कृत गरेको हो ।
सो अवसरमा आयोजित पत्रकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणी पराजुलीले उहाँहरूलाई नगदसहित कदर पत्रद्वारा पुरस्कृत गर्नुभएको हो ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले पत्रकारहरूले आफ्नो पेसालाई स्थापित गर्न धेरै दुखकष्ट भोग्दै आएकाले समाचार लेखेकै भरमा प्रेस स्वतन्त्रता माथी बन्देज लगाउने कुरा स्वीकार्य नहुने बताउनुभयो ।
प्रेसले जतिसुकै निर्मम एवं कठोर भएर समाचारका तथ्य बगाएर समाचार लेखे पनि त्यसको उपचार भनेको प्रेसमाथि बन्देज लगाउने र प्रेसमा प्रतिबन्ध लगाउने होइन भन्नुभयो । लोकतन्त्रमा राज्यले प्रेसको जहिले पनि सम्मान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले प्रेसबाट गलत समाचार सम्प्रेषण भएमा प्रेसलाई सम्झाउने, बुझाउने र सत्य समाचार लेख्न राज्यले प्रेरित गर्नुपर्ने बताउनुभयो
सो अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले पत्रकारिता क्षेत्रको विकासका लागि कोशी प्रदेश सरकारले प्रदेश आमसञ्चार विधेयक प्रदेशसभाबाट पास गरिसकेको र त्यो कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव आशमान तामाङ, पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरतबहादुर खड्का तथा मोरङ महासङ्घका अध्यक्ष सुशिला पाठकले पत्रकारिता क्षेत्रका विकासमा प्रदेश सरकार गरेको कार्यको चर्चा गर्नुभएको थियो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा २०७५ सालदेखि सो पुरस्कार प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्