तपाईँ सुन्दै हुनुहुन्छः

२० लाख रुपैयाँ लगानी गरेर खोलाको बगरमा खरभुजा खेती

विराटनगर । थोरै लगानीमा धेरै आम्दानी हुने भएपछि खोलाको बगरमा उत्पादन हुने खरभुजा खेतीमा किसानले ठुलो लगानी गर्न थालेका छन् ।  ठुलो लगानीमा किसानले गरेका खरभुजा खेतीले पुर्वी मोरङको रतुवा खोलाको बगर हराभरा भएको छ । 

 मोरङ सुनवर्सी नगरपालिका–६ झपडतलका मोहमद उसमानले रतुवा खोलाको बगरमा २० लाख रुपैयाँ लगानी गरेर खरभुजा खेती गर्दै आउनु भएको छ । हुलाकी राजमार्ग अन्तर्गत पर्ने खोलाको पुल नजिक  सात बिघाको बगरमा  उहाँले खरभुजा, फर्सी तथा काक्रा खेती गर्दै आउनु भएको छ ।

 गत मङ्सिर महिनामा  लगाइएको खरभुजा खेतीले चैत देखी उत्पादन दिन थालि सेकेको छ । वैशाख महिना सम्म उत्पादन हुने उहाँले लगाउनु  भएको चकलेटी एवं अर्ग्यानिक खरभुजा बिक्रीका लागि काठमाडौँ, पोखरा, धरान तथा विराटनगर सम्म पुग्ने गरेका छन् । ठुला ठुला मालवाहक ट्रक लिएर खरभुजा खरिदका लागि व्यापारीहरू त्याहा पुग्ने गर्दछन् ।

 २० लाख गरेको लगानी खर्च कटाएर एक सिजनमा तिन चार लाख  आम्दानी हुने गरेको उहाँको भनाई छ । यो व्यवसायबाट आम्दानी भन्दा पनि धेरैलाई  रोजगारी दिन सफल भएको उहाँ सुनाउनु हुन्छ ।

विगत १० वर्षदेखि सो ठाउँमा खरभुजा खेती गर्दै आउनु भएका  उसमानले यो खेतीबारे नेपाली किसानसँग ज्ञान नभएकाले भारतीय किसानलाई  यो खेतीमा संलग्न गराएको बताउनुभयो । । प्रत्येक वर्ष यो खेतीका जानकार  दुई देखि तिन परिवार भारतीय किसान लाई संलग्न गराउँदै आएको उहाँको भनाई छ । 

खरभुजाको बिउँ निकै महँगो भएकाले सोचे जस्तो आम्दानी हुन नसकेको उसमानको भनाई छ । उहाँका अनुसार  चकलेटी खरभुजाको बिउँ प्रति केजी ८० हजार रुपैयाँ भारु पर्दछ । एउटा खरभुजा साढे तिन केजी सम्म   उत्पादन हुने यो खरभुजा स्वादिलो रसिलो भएकाले बजारमा यो खरभुजाको  माग बढेको उहाँको भनाई छ । एक केजी बीउले १७ देखि १८ कठ्ठालाई पुग्ने उहाँले बताउनुभयो  ।

अरू एउटा खरभुजा पाँच देखि सात केजी सम्म उत्पादन हुने पनि छन् । त्यस्ता खरभुजाको बिउँ प्रतिकेजी १० देखी १२ हजार रुपैयाँमा पनि  पाइन्छ तर अरू खरभुजाभन्दा चकलेटी खरभुजको स्वाद फरक भएकाले यस्तो  जातको खरभुजा उत्पादनमा आफूले जोड दिएको उहाँको भनाई छ ।

 सुरुमा  खरभुज खेतीका लागि खाल्डो खन्न, प्रत्येक खाल्डोमा मल तथा बिउँ हाल्नका लागि मजदुरको आवश्यक पर्छ ।  खेतीका लागि विगत पाँच महिनामा आफूले वरपर गाउँका पाचसय भन्दा बढीलाई  रोजगारी दिएको उहाँको भनाई छ ।  धेरै कमाउने भन्दा पनि  गाउँका मानिसलाई रोजगारी दिन पाएकोमा त्यसैबाट आफु सन्तुष्ट रहेको उहाँको भनाई छ ।

 अहिले खरभुजाको उत्पादन अन्तिम सिजन चलेको छ । खोलामा बाढी आउने क्रम शुरु भएकाले खोला किनारमा लगाएको खरभुज खेतीमा त्यसको असर पर्ने गर्दछ । 

 झापा र मोरङ जिल्लालाई जोडने सो खोलाको पुल भएर दैनिक  सयौँ सवारी साधन ओहर दोहर हुने गर्दछ । सवारी साधनमा आवत जावत गर्ने प्राय सबैले त्याहा उत्पादित खरभुज खरिद गर्ने गरेका छन्  । त्यहाँ उत्पादित   खरभुज प्रतिकेजी २५ देखि ३० रुपैयाँमा अहिले बिक्री हुँदै आएको छ  ।  

  यति ठुलो लगानी गर्दै पनि सरकारी निकायबाट कुनै सहयोग नपाएको उहाँको गुनासो छ । बालुवामा लाखौँ रुपैयाँ लगानी गरेर खरभुज खेती गर्दै आएपनि कहिकतैवाट अनुदान नआएको सुनाउँदै   राज्यले सरकारी अनुदान दिने हो भने खोला किनारका प्राय सबै किसान खरभुजा खेतीमा लाग्ने उहाँको भनाई छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button