कर्णालीका तीन पालिकामा अझै नेपाल टेलिकमको फोर–जी सेवा पुगेन
सुर्खेत। कर्णाली प्रदेशका तीन पालिकामा अझैपनि फोर–जी (एलटीई) सेवाको पहुँच पुग्न सकेको छैन ।
नेपाल टेलिकमको सेवा विस्तारमा भइरहेको ढिलाइले फोर–जी सेवा लिन आतुर टेलिकमका उपभोक्तालाई थ्री–जीमै सीमित हुनुपर्ने बाध्यता छ । नेपाल टेलिकमले भने डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिका, मुड्केचुला गाउँपालिका र शे फोक्सुन्डो गाउँपालिकामा फोर–जी सेवा विस्तार गर्न बाँकी रहेको जनाएको छ ।
निर्देशनालयका सूचना अधिकारी (इन्जिनियर) जीवन न्यौपानेले दुर्गम भौगोलिक अवस्था र पूर्वाधार अभावले डोल्पाका तीन पालिकामा फोर–जी सेवा विस्तार गर्न ढिलाइ भइरहेको बताउनु भयो ।
प्रदेशका ७९ वटै पालिकामा टु जी, थ्री जी सेवा सञ्चालनमा रहेको बताउँदै उहाँले हाल फोरजी सेवा पुग्न नसकेका डोल्पाका तीन पालिकामा छिट्टै सेवा विस्तार गरिने योजना रहेको जनाउनुभयो । डोल्पो क्याम्पस दुनैका क्याम्पस प्रमुख विष्णुलाल बुढाले अनलाइन सेवा, डिजिटल कारोबार र शैक्षिक गतिविधिका लागि गाउँका नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।
उहाँले फोर–जी सेवा विस्तार गर्न भइरहेको ढिलाइले ग्रामीण सर्वसाधारणसँगै विद्यार्थीलाई समेत समस्या भइरहेको जनाउनु भयो । शे फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङले इन्टरनेट अभावका कारण स्थानीय सरकारका काम–कारबाहीसमेत प्रभावित भएको बताउनु भयो ।
उहाँले इन्टरनेटको प्रभावकारी सेवा उपलब्ध नहुँदा स्थानीयको दैनिक जीवन समेत प्रभावित बनेको जनाउनु भयो । उहाँका अनुसार माथिल्ला डोल्पामा कमजोर नेटवर्कका कारण सामान्य इन्टरनेट सेवा प्रयोग गर्नसमेत समस्या हुने गरेको छ । छिटो फोर–जी सेवा विस्तारका लागि जिल्ला, प्रदेश र संघीय तहमा समेत पटक–पटक पहल गरिएपनि कुनै सुनुवाई हुन नसकेको उहाँको भनाइ थियो ।








प्रतिक्रिया राख्नुहोस्