भेडा–च्याङ्ग्राको मौसमी बसाइँसराइ सुरु, हिमाली पाटनमा चहलपहल
मुगु। गर्मी बढेसँगै कर्णालीका हिमाली जिल्लामा भेडा–च्याङ्ग्राको मौसमी बसाइँसराइ सुरु भएको छ। तापक्रम वृद्धिसँगै पशुपालक कृषकहरू आफ्ना भेडा–च्याङ्ग्रासहित उच्च हिमाली पाटनतर्फ उक्लिँदा पाटन क्षेत्रमा चहलपहल बढेको छ।

छायाँनाथ रारा नगरपालिका–६, कोटिल्नाका कृषक बाँच्या ऐडी र रतन शाही यस वर्ष पनि आफ्ना भेडा–च्याङ्ग्रासहित ढुङ्गेथला पाटन पुगेका छन्। उनीहरूका अनुसार परम्परागत अभ्यासअनुसार गर्मी सुरु भएसँगै पशुहरूलाई उच्च क्षेत्रतर्फ लैजाने चलन रहेको छ।
कृषक रतन शाहीले तल्लो भेगमा अत्यधिक गर्मी र घाँसपातको कमीका कारण पशुहरू पाटनमा लैजानु आवश्यक हुने बताउनुभयो। अर्का कृषक बाँच्या ऐडीका अनुसार पाटन क्षेत्रमा प्रशस्त हरियो घाँस र स्वच्छ पानी पाइने भएकाले पशुपालन सहज हुन्छ।

स्थानीय कृषकहरू असारदेखि असोजसम्म पाटनमै बसोबास गर्दै पशु चराउने र मौसम चिसिएपछि पुनः तल्लो बस्ती फर्किने गर्छन्। यो परम्परागत मौसमी बसाइँसराइ कर्णाली क्षेत्रको पुरानो पशुपालन संस्कृतिको रूपमा चिनिन्छ।
मुगुका गाईरिटाउना, कालामुल, ढुङ्गेथला, मालिकी, तुम्ली, थाच्चा लगायतका उच्च पाटनहरूमा यस समयमा भेडा–च्याङ्ग्राको बाक्लो उपस्थिति देखिन्छ।

तर पछिल्लो समय चरन क्षेत्र घट्दै जानु, वनसम्बन्धी नियम कडाइ र जलवायु परिवर्तनका असरले भेडापालन पेशा चुनौतीपूर्ण बन्दै गएको कृषकहरूको गुनासो छ। यद्यपि, पाटन क्षेत्रमा देखिने चहलपहलले स्थानीय परम्परा र जीवनशैलीलाई अझै जीवित राखेको छ।








प्रतिक्रिया राख्नुहोस्