तपाईँ सुन्दै हुनुहुन्छः

रुकुमकोट शोकमग्न, पुष्पकमल दाहाल सहभागी हुने कार्यक्रम स्थगित

रुकुम पूर्व । जलजला जाँदै गरेको तीर्थयात्री बोकेको गाडी दुर्घटनामा ठूलो मानवीय क्षति भएपछि रुकुमकोट शोकमग्न बनेको छ। घटनापछि आज आयोजना गरिएका दुई महत्वपूर्ण कार्यक्रम स्थगित गरिएको छ।

पूर्वनिर्धारित पत्रकार सम्मेलन (प्रेस मिट) तथा पूर्व प्रधानमन्त्री एवं रुकुम पूर्वबाट निर्वाचित सांसद पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा हुने सरोकारवाला दलिय तथा सर्वपक्षीय कार्यक्रम दुवै स्थगित गरिएको हो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुकुम पूर्वकी जिल्ला संयोजक कुमारी बराल गौतमका अनुसार गाउँ शोकमा डुबेको अवस्थालाई मध्यनजर गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्न कार्यक्रमहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो। दाहाल हाल रुकुम पूर्वमै रहनुभएको जनाइएको छ।

यसैबीच, दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ। रोल्पाको थबाङ गाउँपालिका–१ सलापमा बिहीबार दिउँसो करिब ३ बजे रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ टाकुराबाट रिजर्भमा गएको लु १ ज ४१६७ नम्बरको जिप दुर्घटनामा परेको हो।

जिप चालक बेदबहादुर विक रहेको प्रहरीले जनाएको छ। रात परेकाले हिजो उद्धार कार्य रोकिएको थियो भने आज बिहानदेखि पुनः खोज तथा उद्धार कार्य सुरु गरिएको छ। घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उद्धार कार्य जारी रहेको जानकारी दिइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button