तपाईँ सुन्दै हुनुहुन्छः

छत्रदेव गाउँपालिकाको कृषि क्रान्ति, २० रोपनीमा व्यावसायिक खेती सुरु

अर्घाखाँची  । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै उदाहरणीय कामको सुरुवात गरेको छ । गाउँपालिकाले परशुरामेश्वर गुठी बल्कोटको करिब २० रोपनी जग्गामा आफ्नै लगानीमा व्यावसायिक खेती सञ्चालन गर्दै आएको छ । वडा नम्बर ४ को सेरिखोलामा अघिल्लो वर्षदेखि सुरु गरिएको यो कार्य अन्तर्गत सिजनअनुसार आलु र धान खेती हुँदै आएको छ ।

चालु सिजनमा अघिल्लो वर्षको तुलनामा आलु उत्पादन उल्लेखनीय रूपमा राम्रो भएको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले थालेको यो अभियानले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ । “पालिकाले सुरु गरेको काम सबैले अनुकरण गर्नुपर्छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

गाउँपालिका उपाध्यक्ष मनि पन्थीले पनि यस पहलले स्थानीय किसानहरूलाई कृषि पेसातर्फ आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । “गाउँपालिकाले आफैँ खेती गर्न थालेपछि किसान दाजुभाइ तथा दिदीबहिनीहरूमा पनि कृषि कार्यप्रति उत्साह बढेको छ,”

 प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालका अनुसार नेपाल कृषि प्रधान देश भएकाले स्थानीय विकासको आधार नै कृषि हुनसक्छ । “कृषिबाटै गाउँपालिकाको समग्र विकास सम्भव छ भन्ने विश्वासका साथ यो कार्यक्रम अघि बढाइएको हो । यस वर्षको आलु खेती अर्ग्यानिक विधिबाट गरिएको हो । स्थानीय मलखादको प्रयोग गरेर गरिएको खेतीका कारण उत्पादन पनि राम्रो भएको उहाँले बताउनुभयो । यसले दीर्घकालीन रूपमा माटोको उर्वराशक्ति कायम राख्न पनि सहयोग पुग्ने विश्वास गरिएको छ ।

यसैबीच, गाउँपालिकाले सूचीकृत बेरोजगार महिला तथा पुरुषहरूलाई खेती कार्यमा संलग्न गराउँदै रोजगारी सिर्जना समेत गरेको छ । रोजगार संयोजक सन्तोष भुसालका अनुसार आलु खन्ने तथा व्यवस्थापन गर्ने कार्यमा स्थानीय जनशक्तिको प्रयोग गरिएको छ । “यसले रोजगारीको अवसरसँगै सीप विकासमा पनि सहयोग पुगेको छ ।

अहिले आलु खन्ने कार्य सुरु गरिएको छ । यस वर्ष करिब ६० क्विन्टल आलु उत्पादन गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको यो प्रयासले स्थानीय तहबाटै कृषि क्रान्तिको सन्देश दिएको छ भने आधुनिक र अर्ग्यानिक विधिबाट गरिने यस्तो खेतीले आत्मनिर्भरता मात्र होइन, आर्थिक समृद्धितर्फ समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

गाउँ पालिकाले उत्पादित आलु बिक्रीका लागी सूचना समेत जारी गरेको छ । उत्पादित आलुको ग्रेड छुट्टाइ स्थानीय बजार मूल्य अनुसार थोक मूल्य रु ३५ र फुटकर मूल्य रु।५० निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button