तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रगढी महिला गोल्डकप : एपीएफ क्वार्टर फाइनलमा प्रवेश

झापा । अधिकांश राष्ट्रिय खेलाडीले भरिएको सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब झापाको भद्रपुरस्थित मेची रङ्गशालामा जारी ओम साई पाथीभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

ओखलढुङ्गाको पदमा स्पोर्टस् क्लबलाई ६–० गोल अन्तरले हराउँदै एपीएफले क्वार्टर फाइनलमा स्थान पक्का गरेको हो । एपीएफले क्वार्टर फाइनलमा सङ्कटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।  

पहिलो हाफ १–० गोल अन्तर बनाएको एपीएफले दोस्रो हाफमा गोलको वर्षा गरेको थियो । पहिलो हाफको २८ औँ मिनेटमा कप्तान अनिता बस्नेतको पासमा रश्मिकुमारी घिसिङले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफको ४१ औँ मिनेटमा घिसिङले नै अर्को गोल थपिन् । 

खेलको ४२ औँ मिनेटमा एपीएफको लागि तेस्रो गोल रेनुका नगरकोटीले गरिन् । खेलको ५२ औँ मिनेटमा रश्मिले ह्याट्रिक पूरा गरिन् भने  ५४ औँ मिनेटमा अनिता केसीले अर्को गोल थपिन् । ५६ औँ मिनेटमा रश्मिले अर्को गोल थपिन् । डिबक्समा अनमार्क रहेकी उनले वान टचमा गोल गरेकी थिइन् ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम एपीएफकी रश्मिकुमारी घिसिङ भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।

भोलि बुधबार पहिलो क्वार्टर फाइनल खेलमा नेपाल पुलिस फुटबल क्लब र भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमीबिच प्रतिस्पर्धा हुने आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button