चितवनमा सोमबारदेखि अन्तर्राष्ट्रिय मौरी सम्मेलन हुँदै

चितवन । चितवनमा पहिलो पटक अन्तर्राष्ट्रिय मौरी सम्मेलन २०२६ हुने भएको छ ।
कृषि सङ्काय, कृषि तथा वन विश्वविद्यालयको आयोजना तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा मौरीपालक महासङ्घको सह आयोजनामा यही चैत्र २३ (अप्रिल ६—१०) गतेदेखि उक्त सम्मेलन विश्वविद्यालय परिषरमा हुन लागेको हो ।
मौरी पालनमा प्रयोग भएका नवीनतम प्रविधि, चुनौती तथा एक अर्का देशका बीच ज्ञान आदानप्रदान गर्ने उद्देश्यसहित मौरी सम्मेलन गर्न लागिएको शुक्रबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
सो अवसरमा विश्वविद्यालयका डिन प्राडा अर्जुन कुमार श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विज्ञ, अनुसन्धानकर्ता मौरीपालक तथा नीति निर्मातालाई एकै थलोमा ल्याएर मौरीपालन, परागसेचन , मौरीजन्य उत्पादन सम्बन्धी ज्ञान आदान प्रदान गर्ने उद्देश्यले मौरी सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्मेलनमा मौरीजन्य उत्पादनहरूको औषधीय गुण, अनुसन्धान, गुणस्तर नियन्त्रण तथा अन्तर्राष्ट्रिय व्यापारका पक्षहरू, परागसेचन सेवाको महत्व, मौरीका वनस्पति स्रोत, जलवायु परिवर्तनको प्रभाव तथा जैविक विविधता संरक्षण, मौरीको जीवविज्ञान, व्यवहार, रोग तथा किट व्यवस्थापन, मौरी स्वास्थ्य संरक्षण तथा नयाँ प्रविधिको प्रयोगबारे चर्चा, मौरी पालनको सामाजिक आर्थिक महत्व, बजार प्रणाली, उद्यमशीलता लगायतका विषयहरू समेटिने छन् । सम्मेलनमा २० वटाभन्दा बढी देशहरूबाट ६० जनाभन्दा बढी पाहुनाहरू आउने प्राडा श्रेष्ठले बताउनुभयो ।
सम्मेलनमा यस सम्बन्धि विज्ञ एवं अनुसन्धान कर्ताले कार्यपत्र , पोष्टर प्रस्तुति तथा छलफल गर्नेछन् । यस्तै सम्मेलनमा एपिएक्स्पो तथा प्रदर्शनी मार्फत मौरीपालन सम्बन्धी उपकरण प्रविधिको महत्व तथा अन्य उत्पादनहरूको प्रदर्शनी गरिनेछ । सम्मेलन पश्चात् स्वदेशी तथा विदेशी पाहुनालाई मौरीपालन केन्द्र, अनुसन्धान फार्म एवं चितवनका पर्यटकीय स्थलहरूमा अवलोकन गराइने उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा कृषि विभाग सहसचिव राजेन्द्र कोइराला, विश्वविद्यालयका निर्देशक प्राडा निराजन भट्टराई, प्राडा सन्तोष मरहठ्ठालगायतले मौरीको महत्व, संरक्षणका साथै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।
सम्मेलनबाट मौरीपालन तथा परागसेचनको क्षेत्रमा नीवन ज्ञान तथा प्रविधिको प्रवर्द्धन , अन्तर्राष्ट्रिय सहकार्यको विस्तार हुने, नेपाललाई मौरीपालन अनुसन्धान र अभ्यासको महत्त्वपूर्ण केन्द्रका रुपमा स्थापित हुनुका साथै यसले किसान उद्यमी, तथा नीति निर्मातालाई दिगो कृषि प्रणालीमा टेवा पुग्ने आयोजकको अपेक्षा छ ।
सम्मेलन चैत्र २७ गतेसम्म चल्नेछ ।








प्रतिक्रिया राख्नुहोस्