कर्णालीमा क्षयरोगका ८ सय बढी नयाँ बिरामी थपिए
सुर्खेत । कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा आठ सय बढी क्षयरोगका नयाँ बिरामी थपिएका छन् ।
प्रदेशका दश जिल्लामा क्षयरोगका ८ सय ६१ जना नयाँ बिरामी थपिएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । कर्णालीमा तुलनात्मक रूपले क्षयरोगका बिरामीको संख्या हरेक वर्ष घट्दो क्रममा रहेपनि नयाँ थपिनेको संख्या भने नरोकिएको निर्देशनालयका क्षयरोग÷कुष्ठरोग अधिकृत पदमबहादुर केसीले बताउनुभयो ।

उहाँले प्रदेशभर आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ७ सय १४ जना क्षयरोगका बिरामी रहेकोमा आर्थिक वर्ष २०८१÷०८२ मा घटेर १ हजार ५ सय ३९ जना रहेको जनाउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२÷०८३ मा सबैभन्दा धेरै सुर्खेतमा–२ सय ९६ जना फेला परेका छन् भने सबैभन्दा कम हुम्ला जिल्लामा १९ जना क्षयरोगका नयाँ बिरामी फेला परेका हुन् ।
यस्तै सल्यानमा– १ सय ४, जाजरकोटमा– १ सय १, रुकुम पश्चिममा– ९२, दैलेखमा– ८३, कालिकोटमा–४६, जुम्लामा–४५, डोल्पामा–२१ र मुगुमा–१९, जनामा संक्रमण देखिएको अधिकृत केसीले जानकारी दिनु भयो ।
उहाँले कर्णालीमा क्षयरोगका नयाँ बिरामी फेला पर्ने क्रम नरोकिएपछि पछिल्लो समय बिरामीलाई उपचारको दायरामा ल्याउने गरी प्रचारप्रसार भइरहेको बताउनुभयो । हुम्ला, डोल्पा, मुगुमा क्षयरोगीको संख्या कम हुनुमा कमैले मात्र क्षयरोगको परीक्षण गर्ने भएकाले यो संख्या बढ्न सक्ने निर्देशनालयको आँकलन छ ।
पछिल्लो समय क्षयरोगका बिरामीको उपचारमा सन्तोषजनक सफलता प्राप्त भएको निर्देशनालयको दाबी छ । हाल कर्णालीमा क्षयरोग निवारणका लागि ४ सय १५ वटा क्षयरोग हेरचाह केन्द्र रहेका छन् भने २ वटा एमडीआर उपचार केन्द्र रहेका छन् । यस्तै, १० वटा जीन विशेषज्ञ केन्द्र रहेका छन् ।
कर्णालीमा हालसम्म डोल्पा जिल्लामा मात्र जीन विशेषज्ञ केन्द्र स्थापना हुन सकेको छैन । यस्तै, माइक्रोस्कोपीको संख्या भने ३३ वटा रहेको निर्देशनालयको भनाइ छ ।
यसैबिच आज विश्व क्षयरोग दिवस कर्णालीका विभिन्न जिल्लामा सचेतना कार्यक्रम गरी मनाइएको छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नारासहित स्वास्थ्य सेवा निर्देशनालयको आयोजना र नगर अस्पताल वीरेन्द्रनगरको समन्वयमा क्षयरोगका बिरामीबिच सचेतना फैलाउँदै फलफूल वितरण गरिएको निर्देशनालयका क्षयरोग÷कुष्ठरोग अधिकृत पदमबहादुर केसीले जानकारी दिनुभयो ।
दिवस मनाउने कार्यक्रममा निर्देशनालयका निर्देशक डा.रविन खड्का, नगर अस्पताल वीरेन्द्रनगरका संयोजक यामप्रसाद अधिकारी, जन स्वास्थ्य कार्यालय सुर्खेतका क्षयरोग फोकल पर्सन कृष्णकुमार विष्ट, युएनडिपीका प्रोग्राम कोडिनेटर सीमा गिरी, प्रदेश अस्पतालका मेडिकल ल्याब टेक्नाँलोजिष्ट शर्मिला तिमिल्सेना लगायतको सहभागिता रहेको अधिकृत केसीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्