निमित्तका भरमा वर्षौंदेखि कार्यालय सञ्चालन हुँदै
डडेल्धुरा । डडेल्धुराका स्थानीय तह देखि सरकारी कार्यालयहरूमा वर्षौंदेखि दरबन्दी अनुसारका कार्यालय प्रमुख नहुँदा सेवा प्रभावकारी हुन नसकेको गुनासो गरिन थालेको छ ।

कार्यालय प्रमुखको दरबन्दी निमित्तको भरमा वर्षौंदेखि सञ्चालनमा आइरहे पनि सेवा भने प्रभावकारी हुन नसकेको गुनासो व्यापक रुपमा उठेको छ । अमरगढी नगरपालिका डडेल्धुरा सदरमुकामको पालिका हो तर त्यहाँ वर्षौंदेखि निमित्तको भरमा कार्यालय सञ्चालनमा आइरहेको छ ।
उपसचिवको दरबन्दी रहेको अमरगढी नगरपालिकामा शाखा अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले झण्डै तिन वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका छन् तर स्थानीयहरू उनको कार्यशैली प्रति निकै असन्तुष्ट भएका छन् । उनको ठाउँमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको झण्डै ६ महिना बितिसक्यो तर नआएपछि उपाध्यायले नै जिम्मेवारी लिँदै कामकाज गरिरहेका छन् ।
उता नवदुर्गा गाउँपालिका पनि चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ त्यहाँ पनि मन्त्रालयले केही समयका लागी कामकाज गर्ने गरि इन्जिनियरलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
उनी पनि इन्जिनियर र कार्यालय प्रमुख दुवै जिम्मेवारी लिए पनि कामकाज प्रभावकारी हुन नसकेको गुनासो व्यापक उठ्न थालेको छ । प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका इन्जिनियर महेन्द्र बोहरा समेत दुइटै जिम्मेवारीले आफूलाई समेत समस्या हुन थालेको उहाँको भनाई थियो ।
यसैगरी आलिताल गाउँपालिका समेत प्रमुख प्रशासकीय अधिकृतविहीन भएको झण्डै तिन महिना बितिसक्यो तर कामचलाउका रुपमा कृषि शाखा प्रमुख लक्ष्मण बहादुर कामीलाई जिम्मेवारी दिइएको छ । तर, कामकाज प्रभावकारी नभएको स्थानीयको गुनासो छ ।








प्रतिक्रिया राख्नुहोस्